आइतबार, वैशाख २८, २०८२

जयतु संस्कृतम्‌को ७५ औँ हीरक जयन्ती, पहिलो विद्यार्थी आन्दोलनको सम्झना

नेपालखोज २०७८ असार १ गते ७:४४

काठमाडौं । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् को ७५औं अर्थात् हीरक जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

आज बिहान दरबारमार्गस्थित तीनधारा पाठशालाअघि रहेको जयतु संस्कृतम् स्तम्भमा माल्यार्पण, पुष्पगुच्छासहित विश्व शान्तिको सङ्कल्पले स्वस्ति वाचन गरिने संस्थाका अध्यक्ष डा. बद्री पोखरेलले जानकारी दिए । विगत वर्षमा दिवसका अवसरमा पदयात्रा गरिन्थ्यो ।

यस वर्ष नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण सो कार्यक्रम स्थगित गरिएको छ । उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता भने जुम प्रविधिबाट आयोजना गरिएको छ । दिउँसो भने जुम प्रविधिका माध्यमबाट संस्थाले दुई बजे हीरक जयन्ती शुभारम्भ गर्दैछ । कार्यक्रममा पूर्वसभामुख एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जयतु संस्कृतम् आन्दोलनका सहभागी एवं पूर्वमन्त्री अच्युतराज रेग्मीलगायतले सम्बोधन गर्नेछन् ।

May be an image of text that says 'जयतु संस्कतम संस्कृतम्_आन्दोलन-२००४ आन्दोलन- हीरक जयन्ती समारोह २०७८ हार्दिक आमन्त्रणा पूर्वसभामुख रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा जयतु संस्कृतम् आन्दोलन हीरक जयन्ती वर्षको समारम्भ गरिने समारोहमा असार गते दिवा २ बजे वैघ्युत सभाकक्षमा उपस्थित हुन हार्दिक अनुरोध छ। विशेष वक्ताहरु:- अच्युतराज रेग्मी ZOOM ID:-89354450962 आयोजक प्रा.डा. बासुदेव त्रिपाठी जयतु संस्कृतम् चिरब्जिवी वागले'

जुम प्रविधिबाट दिवसको कार्यक्रममा सहभागी हुन नसक्नेलाई घरघरमै बसी संस्कृत श्लोक वाचन गरी मनाउन आह्वान गरिएको जयतु संस्कृतम् संस्थाका महासचिव डा नवराज कट्टेलले बताए ।

घरघरमा वाचन गरिएको संस्कृत श्लोकलाई विभिन्न माध्यमबाट सार्वजनिक गर्न पनि संस्थाले आह्वान गरेको छ । संस्थाले यसै वर्ष हुन लागेको जनगणनामा संस्कृत भाषा बोल्नेहरुलाई त्यसको अभिलेख दर्ज गराउन पनि आह्वान गरेको छ ।

हीरक जयन्तीका अवसरमा संस्थाका प्रदेश समितिले पनि विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी सातै प्रदेशमा दिवस मनाउन लागिएको छ । नेपालको पहिलो विद्यार्थी आन्दोलनका साथै यही आन्दोलनबाट विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापनामा सहयोग पुगेकाले जयतु संस्कृतम्‌लाई महत्त्वपूर्ण घटनाका रूपमा मानिन्छ ।

किन मनाइन्छ यो दिवस

विसं २००४ असार १ गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अङ्ग्रेजी, गणित, विज्ञान, भूगोललगायत विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासकका विरुद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ ।

आधुनिक विषय अध्ययन गर्न पाउनुपर्ने माग गर्दै शुरु भएको आन्दोलन पछि जहानियाँ राणा शासनका विरुद्धमा केन्द्रित भएको थियो । राणा शासकले तीनधारा पाठशालाबाट चार पाटा मुडेर विद्यार्थीलाई उपत्यकाका नाका कटाएपछि जहानियाँ राणा शासनको विरोध गर्दै देशभर जागरण फैल्याएका थिए । यसले कुना कन्दराका जनतालाई राणा शासकका विरुद्ध सङ्गठित गरेको थियो ।

देशका विभिन्न भाग हुँदै विद्यार्थीहरु भारतको वनारस पुगे । वनारसमा राणा शासनको अन्त्य गर्न प्रवासमा रहेका नेपालीलाई गोलबद्ध गरिरहनुभएका नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालालगायत नेतासँग जयतु संस्कृतम्का अगुवाहरु पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मा लगायतले भेटघाट गरी प्रजातन्त्र स्थापनाको आन्दोलनमा सरिक हुनुभएको थियो । त्यसबेला असार १ गते विद्यार्थीले आन्दोलन शुरु गरेको सम्झनामा प्रत्येक वर्ष यसै दिन जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ ।

आन्दोलनको स्वर्ण वर्षको अवसरमा विसं २०५५ मा संस्कृतका क्षेत्रमा काम गर्ने उद्देश्यले जयतु संस्कृतम्लाई संस्थागत स्वरूप दिई विधिवत् रूपमा दर्ता गरिएको थियो । त्यसै वर्षदेखि संस्थागतरूपमा जयतु संस्कृतम् दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया