झरीले निथ्रुक्क, खुसी भए किसान ! (फोटो फिचर)
देशभरका नदी तथा खोलाको बहाव बढ्यो, सुरक्षित रहन आग्रह
काठमाडौं । देशभरको मौसम सक्रिय भएको छ । आज मुलुकका अधिकांश क्षेत्रमा वर्षा भएको छ । राजधानीलगायत केही क्षेत्रमा वर्षा भइरहेको छ । वर्षाले कच्ची सडक हिलाम्मे भएका छन् । बोट-बिरुवाले पानी पाएर हलक्क बढ्ने मौका पाएका छन् भने बाली सप्रने आशमा किसानहरु खुसी भएका छन् ।
मानो रोपेर मुरी फलाउने किसानको यो मौसम वर्षा हुनुले कहीँ राहत दिएको छ भने कहीँ बाढी-पहिरोले सर्वसाधारणलाई आहात । देशभरको मनसुन सक्रिय भएसँगै जारी वर्षाका कारण देशभरका नदी तथा खोलाहरूमा बहाव बढेको छ । ठाउँठाउँमा भारी वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बाढीबाट जोगिन आग्रहसमेत गरेको छ ।
कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा भारी वर्षा भएको छ । भारी वर्षा भएपछि ती क्षेत्रमा खतराको संकेत स्वरुप साइरन बजाइएको छ ।
कास्कीको लुम्ले, चितवनको चरछरे, म्याग्दीको घोरेपानी र नवलपरासीको अरुण खोला स्टेसनमा भारी वर्षा मापन भएपछि साइरन बजाइएको महाशाखाले जनाएको छ ।
बिहीबारसम्म कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदीलगायत लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशको चुरे, तराई भई बहने केही साना नदीनजिकको क्षेत्रमा पनि विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
जल तथा मौसम विभागले पछिल्लो चौबीस घण्टामा स्याङ्जा जिल्लाको चापकोट केन्द्रमा सबैभन्दा बढी वर्षा जनाएको छ । देशभरका २ सय ६ वर्षा मापन केन्द्रहरुमा मापन गरिएको चौबीस घण्टाको वर्षाको विवरणअनुसार १ सय ९३ वटा केन्द्रमा वर्षा भएको छ । जसमा सबैभन्दा बढी स्याङ्जामा २ सय १४ दशमलव शून्य मिलिमिटर वर्षा भएको छ ।
मापन गरिएका केन्द्रहरु मध्ये १४३ वटा केन्द्रमा १० मिलिमिटर भन्दा बढी, ११९ वटा केन्द्रमा २५ मिलिमिटर भन्दा बढी, ७९ वटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी, २६ वटा केन्द्रमा १ सय मिलिमिटरभन्दा बढी, ४ वटा केन्द्रमा १ सय ५० मिलिमिटर भन्दा बढी र १ वटा केन्द्रमा २ सय मिलिमिटर भन्दा बढी वर्षा भएको छ ।
त्यस्तै आज देशको पश्चिम क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको जलवायु परिवर्तन तथा विपत् व्यवस्थापन विज्ञ धर्मराज उप्रेतीले बताएका छन् । ठूला तथा मझौला नदीहरुमा आकस्मिक बाढी तथा कमजोर भू-भागमा पहिरोको जोखिम अत्याधिक रहेको हुँदा आवश्यक सावधानी अपनाउन उप्रेतीले आग्रह गरेका छन् ।
मनसुन थप सक्रिय, तीन दिन लगातार वर्षा
जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले मनसुन थप सक्रिय भएको जनाएको छ । मौसम थप सक्रिय भएसँगै देशका केही ठाउँमा ठूलो पानी परिरहेको महाशाखाले जनाएको छ । महाशाखाले मनसुन बुलेटिन जारी गर्दै अहिले भारतको झारखण्डमा रहेको न्यूनचापीय क्षेत्र र मनसुनी न्यून चापीय रेखाको प्रभावका कारण मनसुन थप सक्रिय भएको जनाएको हो ।
यसका कारण आजदिनभर र राति देशका धेरै ठाउँमा हल्कादेखि मध्यमखालको पानी पर्ने र गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशको केही ठाउँमा भने ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । यी प्रदेशका पहाडी ठाउँमा पहिरोको जोखिम रहेको, नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । मौसमविद्ले अबको तीन दिन लगातार पानी पर्ने पूर्वानुमान गरेका छन् ।
उपत्यका (काठमाडौं, भक्तपुर, ललितपुर) मा पनि बिहानदेखि झरी परिरहेको छ । केहीबेर पानी पर्न रोकिए पनि पुन: परिरहेको अवस्था छ ।
उपत्यकाका विभिन्न स्थानमा वर्षापछिको अवस्था थप तस्बिरमा :
प्रतिक्रिया