शुक्रबार, वैशाख ७, २०८१

विपत्‌ व्यवस्थापनका लागि तीनवटै सुरक्षा निकायको तयारी यस्तो (भिडियोसहित)

नेपालखोज २०७८ असार १ गते १७:११

काठमाडौं । मनसुनमा आइपर्ने बाढी, पहिरो तथा डुबानलगायत विपत् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको तीनवटै सुरक्षा निकायले बताएका छन् ।

नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका प्रवक्ताहरुले यस वर्ष अघिल्लो वर्षको तुलनामा विपदका घटना बढ्ने जानकारी प्राप्त भएकाले व्यवस्थापनका लागि पूर्ण रुपमा तयारी अवस्थामा रहेको बताए ।

पूर्वतयारी, उद्दार, पुर्नस्थापना तथा राहतको काममा आफ्नो संयन्त्रलाई तयारी गरिएको बताए । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौड्यालले सेनाले विपत् प्रतिकार्य योजना तयार पारेर काम सुरू गरिसकेको बताए ।

विपदको घटना घट्ने ठाउँको नक्सांकन गरी आवश्यक जनशक्तिलाई तयारी अवस्थामा राखिएको उनले बताए । ७७ वटै जिल्लामा भएका गण तथा गुल्महरुबाट एकतिहाइको जनशक्ति फौजलाई विपद व्यवस्थापनका लागि तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।

खतरायुक्त स्थानमा सेनासँग भएको आवश्यक स्रोत-साधनसहित दक्ष जनशक्ति परिचालन गरिने उनले बताए । नेपाल सेनासँग तालिमप्राप्त दुईवटा विशेष युनिट भएको उल्लेख गर्दै उनले ती युनिटलाई विपत्‌को समयमा परिचालन गरिने जानकारी दिए ।

जलसम्बन्धी उद्दारका लागि २०० वटा वोटहरु तयारी अवस्थामा राखिएको पनि उनले बताए । विपदको समयमा आइपर्ने अत्यावश्यक सामग्रीहरु ओसार–पसार गर्न तथा उद्दार गर्नका लागि पश्चिममा सुर्खेतमा र पूर्वमा इटहरी वा विराटनगरमा हवाइ साधन तयारी अवस्थामा राख्ने पनि प्रवक्ता पौड्यालले बताए ।

विपत् प्रतिकार्यका लागि नेपाली सेनाले गृह मन्त्रालय, विपत्‌ व्यवस्थापन प्राधिकरण लगायत सरोकारवाला विभिन्न निकायहरुसँग समन्वयमा काम गरिरहेको पनि उनको भनाई छ ।

नेपाली सेनालाई उद्धारमा जाँदा कोभिड-१९ संक्रमणको जोखिम रहेकाले काममा जाँदा स्वास्थ्य सम्बन्धी प्रोटोकल अपनाउन प्रयास गर्ने पनि उनले बताए । साथै सेनालाई कोभिड -१९ विरुद्धको खोपमा पनि जोड दिने उनले बताए ।

हालसम्म नेपाली सेनाका ५० हजार जवानले खोपको पहिलो मात्रा र २७ हजार जवानले खोपको दोस्रो मात्रा लगाइसकेको पनि उनले जानकारी दिए ।

त्यसैगरी सशस्त्र प्रहरी बलले पनि विपत्‌को प्रतिकार्य गर्न आफ्नो तयारी पुरा भएको बताएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता राजु अर्यालले पूर्व तयारीका सम्पूर्ण काम पूरा गरीसकेको जानकारी दिए ।

केन्द्रीय कार्यालयबाट परिपत्र गरेर सबै युनिटलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकिएको उनले बताए । खतरायुक्त ठाउँको नक्साङ्कन गरेर बाढी, पहिरो, डुबान के को जोखिम हो त्यसै अनुसार जनशक्ति परिचालन गरिएको उनले स्पष्ट पारे ।

सशस्त्रमा विपत व्यवस्थापनको तालिम लिएको जनशक्ति १९१८ जना रहेको भन्दै उनले सो जनशक्तिलाई प्रत्येक प्रदेशमा एक÷एक समुह, उपत्यकामा दुईवटा र विपत व्यवस्थापन तालिम केन्द्र कुरिनटारमा दुईवटा गरी १० वटा समुह परिचालन गरिने उनले बताए ।

त्यसको अलावा उपत्यकासहितका ८ वटा बाहिनी, गण, गुल्म, विओपी स्तर र अन्य बेसहरुमा पनि विपद व्यवस्थापनको लागि समुह तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।

तालिमप्राप्त ३७ जना गोताखोरलाई पनि तयारी अवस्थामा राखिएको उनको भनाइ छ । डुवानको अवस्थमा उद्दारका लागि ७० वटा वोटहरु तयारी अवस्थामा राखिएको र पहिरोका कारण राजमार्ग अवरुद्ध भएको खन्डमा अवरोध हटाउनको लागि १३ वटा हेभि इक्युपमेन्टहरु परिचालन गरिसकिएको उनले बताए ।

राजमार्ग अवरुद्ध भएर आपूर्तिमा असहजता हुनसक्ने कुरालाई ध्यानमा राख्दै पेट्रोल पम्पमा पेट्रोल, डिजेल भण्डारण पनि गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता राजु अर्यालले जानकारी दिए ।

नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले विपतको प्रतिकार्य गर्न नेपाल प्रहरीको माथिदेखि तलसम्मको संरचना सक्रिय भइसकेको बताए । प्रहरीले केन्द्रका विभिन्न निकाय र स्थानीय तहको विभिन्न निकाय तथा सरोकारवालासँग समन्वय गरेर काम अगाडि बढाइसकिएको उनले जानकारी दिए ।

विपतको समयमा प्रहरी संगठन भित्र रहेको साधन, स्रोतलाई अधिकत प्रयोग गर्ने उनले स्पष्ट पारे । प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको बताए ।

स्थानीय स्तरमा प्रहरी सरोकारवाला निकायहरुसँग समन्वय गरिरहेको उनले जानकारी दिए । मुख्य तथा सहायक राजमार्गहरुलाई अवरुद्ध हुन नदिन प्रहरीले ध्यान केन्द्रित गरेको पनि प्रवक्ता कुँवरले बताए ।

प्रतिक्रिया