के विवेकशील साझा वैकल्पिक शक्ति बन्न सक्छ ?

काठमाडौं । ‘विवेकशील साझा पार्टी नै अबको निर्विकल्प वैकल्पिक शक्ति हो ।’ लेख्दै पार्टीका एक नेता दिनकर नेपालले आज बिहानै सामाजिक सन्जालमा सार्वजनिक प्रश्न गरे- यसमा हजुरहरुको विचार के छ ?
बढ्दो राजनीतिक वितृष्णाबीच बहसका लागि अगाडि ल्याइएको यो प्रश्नको जवाफमा पनि निकै विविधता अनि रोचकता पाइन्छ । जस्तो शोभाराम खनाल लेख्छन्- निर्विकल्प बन्न सक्छ तर धेरै गर्न बाँकी छ ।
यता मदनकुमार अधिकारी टिप्पणी गर्छन्- यो एउटा क्लब हो । अधिकारीको टिप्पणीमा एकजनाले लेखेरै अनि तीनजनाले संकेतमा सही थापेका छन् । लोकेन्द्र भण्डारीको विचारमा तोकिएको समयमा आफ्नै पार्टीको अधिवेशन गरेर नयाँ नेतृत्व पायो भने सम्भव होला तर यस्तै तरिकाले चाहिँ सम्भव छैन । यसक्रममा सरगम भट्टराईको विचार छ- साझा पार्टी स्थापना हुने बेला तपाईंको नाम संस्थापक सुन्दा लागेको खुसी बल्ल फूलेको छ । ढिलो नगर्नुस्, वैकल्पिकलाई निर्विकल्प बनाउन होमिनुहोस्, हामी सँगै छौं । पुराना पार्टीबाट कुनै हालतमा नेपाल बन्दैन । भट्टराईको विचारले नौजनाको लाइक पाएको छ ।
यही प्रश्नमा आएका केही जवाफ यस्ता छन् :
एकदमै सही विश्लेषण अबको निर्विकल्प शक्ति हो विवेकशील साझा ।
-सुशील देवकोटा
नेतृत्व ठीक छैन । नेताको विकल्प नेता हुँदैन विचारसहितको नेतृत्व चाहिएला कि मेरो विचार है ।
-राजेन्द्र डुम्रे
बाहिर खुलेर भन्न नसके नि अहिले सबैले सोचेको कुरा यही हो ।
– प्रदीप श्रेष्ठ
नेताहरुले पदभन्दा माथि उठ्न सके भने सम्भव छ ।
– रमेश चिलुवाल
यो अमेरिकी मिसनको पार्टी विकल्प हुन सक्दैन ।
-टीकाराम रेग्मी
मधु लोहनीको प्रतिक्रिया छ- विवेकशील साझासँग इतिहासको ऋण छैन । धन पनि छैन् । सम्भावनाकै आकलन गर्ने हो । राष्ट्रिय राजनीतिमा र संसदीय राजनीतिमा कार्यकारी भूमिकाबाट राजनीतिक सामर्थ्य पुष्टि गर्न यो शक्तिलाई तत्काल त असम्भव नै हुन्छ । तर, स्थानीय सरकारका कार्यकारी भूमिकाहरु हात पार्न र दललाई प्रभावकारी प्रमाणित गर्न सहज होला । २०-५०-१०० गाउँपालिकामा हल्लिखल्ली गर्न, मेयर-उपमेयर-वडाध्यक्ष जितेर ती एकाइहरुमा देखिने परिवर्तन ल्याउन सके अनि त्यसपछिको संसदीय निर्वाचन खेर जाने छैन । स्थानीय सरकारमा गएर के नै गर्न सकिन्छ र भन्ने लाग्नेले चाहिँ अमेरिका-अस्ट्रेलिया गए जाति हुन्छ ।
गफै त हो नि । पार्टी सुदृढ नहुँदै टुट, फुट र गुट सुनेकै देखेकै हो भन्ने टिप्पणीकार हुन् भोजराज गौडेल । यसैगरी विश्वनाथ अर्यालको अर्को टिप्पणी छ- राजतन्त्र फर्किनु र साझ पार्टी बन्नु एउटै कुरा हो । वसन्त खनाल लेख्छन्- रवीन्द्रदेखि, दिनकरसम्म आइपुग्दा मपाईंत्वभन्दा बढी पाइनँ । वैकल्पिक राजनीतिक शक्तिको खाँचो नभएको हैन तर विवेकशील वैकल्पिक बन्न सक्दैन ।
वैकल्पिक नै निर्विकल्प त कसरी होला र ? र यो यथार्थ होइन पनि भन्दै खगेन्द्र खड्का भन्छन्- आश लाएर हेरिराखेको यो केटो पनि जेठाजु पर्यो । खड्काको विचारमा स्थापनाकालभन्दा धेरै तल झरिसक्यो नि ‘विवेकशील साझा’ । पार्टी हाँक्नेहरुले आफूलाई अपरिहार्य मान्न थाले, यहीँनिर हाम्रो भरोसाको ढाड भाँचियो । जस्तो कि अघिल्लो चुनावमा रवीन्द्र मिश्रलाई खुलेर भोट मागियो- अब खुलेर मागिँदैन खड्काले स्पष्ट भनेका छन् ।
रोहित चन्द सुझाव दिँदै लेख्छन्- पहिले सामाजिक सन्जालमा सर्वेक्षण गर्न छोडौं । यो सूचना प्रवाह र जानकारी हासिल गर्न हो । यसबाट थोरै तथ्यांक अनुमान हुन सक्छ तर सही नतिजा आउँदैन । विवेकशील साझा एउटा आन्दोलन हो । यसमा तपाईंहरूजस्ता मान्छे निष्ठाका साथ जोडिनुभयो भने सफल हुन्छ । सफल हुनुको मतलब उमेम्मेद्वार जित्नु र सरकारमा जानु मात्रै होइन। उदाहरण उज्ज्वल थापा नजिकै छन् । धेरै खुट्टा नकमाउनुहोस् । सँगै यात्रा गरौं । परिणामको जिम्मेवारी सामूहिक रूपमा हामी सबै लिऊँ ।
विशाल गौतमको विचारमा यसमा संथापनको इतिहास हेर्न र पुरानासँग दाँज्नु उचित हुन्छ । जो धेरै उप-प्रधानमन्त्रीको विरोध गर्छ उसैका २ जना संयोजक !! कसरी वैकल्पिक ? जसले प्रत्यक्ष निर्वाचित कार्यकारीको वकालत गर्छ उसको कार्यकारी चयन कस्तो छ ? सीमित निर्वाचित सदस्यले फेरि निर्वाचन गरेर चुनेको कार्यकारी कसरी वैकल्पिक ? गौतमले थप प्रश्न गर्दै लेखेका छन्- जो कुर्सीका लागि जोडिन्छ, विनाकुनै वाद वा विचारविना तुरुन्तै फुट्छ अनि तुरुन्तै जोडिन्छ !! त्यो कसरी वैकल्पिक ? जसले अन्य पार्टीजस्तै काठमाडौं मात्रै नेपाल भन्ठान्छ कसरी वैकल्पिक ? के हिसाबले वैकल्पिक देख्नुभयो कुन्नि !!
नारायण रेग्मीको धारणा छ- अहिलेको राजनीतिक अवस्था हेर्दा जनताले वैकल्पिक शक्ति खोजेको कुरा सत्य हो तर अहिलेको अवस्थामा विवेकशील साझाले यो विकल्प दिन सक्लाजस्तो मलाई लाग्दैन । किनकि यो पार्टीको,रणनितीक कार्यनीति फितलो छ र कहीँ न कहीँ यो पार्टी पनि । अहिलेका स्थापित पार्टीहरुजस्तै नेता र नेतृत्वको विषयमै नअल्मलिएला भन्ने आधार प्रस्ट छैन जुन बाटोले टुटफुट र व्यक्तिगत स्वार्थलाई प्रशय दिन्छ ।
अर्की टिप्पणीकार विमला श्रेष्ठले लेखेकी छिन्- एउटा ठूलै खाडल देख्छु म त । विवेकशील साझा पनि सोसल मिडिया र एउटा वर्गमा मात्रै सीमित छ जस्तो लाग्छ र त्यसैमा रमाइरहनुभएको छ । यति बिजोग अवस्थामा आइपुग्दासम्म पनि किन विकल्पको रुपमा लिन सकेनौं त हामीले ।
तेज पंगेनी तिखो टिप्पणी गर्दै लेख्छन्- जो संयुक्त भएको एक वर्षमै जनताको संवृद्धिको आशा मा तुषारपात गरे । पार्टी फुटाएर कसरी वैकल्पिक शक्ति हुन सक्छन ? पद पाउने वा अलि ठूलो भाको भान पर्नेबित्तिकै साझा विवेकशील भन्ने फुटीजान्छ ।
तुलसी वस्तीचाहिँ यसमा सकारात्मक देखिन्छन् । उनको विचार छ- वैकल्पिक शक्ति अवश्य हो तर निर्विकल्प भने होइन । संगठनबिना चुनाव जित्नु अत्यन्तै गाह्रो कुरा हो । मूलधारका राजनीतिक पार्टीका अगाडि विवेकशील साझा पार्टी संगठन अत्यन्तै कमजोर देखिएको छ । शिक्षालय, न्यायालय, प्रहरी, प्रशासन, पत्रकारलगायत । राज्यकै सबैजसो क्षेत्रहरु पुराना मूलधार भनिएका पार्टीहरुको कब्जामा नै छन् भन्दा गलत नहोला । यस्तो अवस्थामा संगठन निर्माण गर्नु ज्यादै चुनौतीपूर्ण नै छ । गाह्रो अवस्थामा नै नेतृत्वको उचित परीक्षा हुने हो र ऊ नेतृत्वमा स्थापित हुने हो । आमजनता तथा अन्य पार्टीका कार्यकर्ताहरुसमेत केही आशाले केही गलत बुझाइले पनि मूलधारको राजनीतिक पार्टीलाई छाड्न सक्ने अवस्थामा छैनन् । पछिल्लो अस्थिर राजनीतिबाट निराशामा रहेको युवा पुस्तालाई प्रशिक्षण गरी व्यापक रुपमा संगठन विस्तार गर्ने र आम जनमानसमा भरोसा दिलाउन सक्ने हो भने पक्कै पनि वैकल्पिक शक्ति अवश्य बन्नेछ ।
थप प्रतिक्रिया :
हरिश भट्ट
पार्टी बनिसकेको छैन बन्ने प्रक्रियामा छ । मिहिनेत आवश्यक छ । अर्को कुरा निर्विकल्प भन्ने शब्द प्रयोग नगरेको राम्रो किन भने कुनै पनि पार्टी निर्विकल्प हुन सक्दैन लोकतन्त्रमा । यो पार्टी विकल्प पक्कै हो तर निर्विकल्प नभनौं ।
मनीष थापा
अरुको शक्ति बन्न पहिले आफू शक्तिशाली हुनुपर्छ त्यसका निम्ति उद्देश्य र गन्तव्य स्पष्ट पार्न सक्नुपर्छ र यो मानेमा, तपाईंले उल्लेख गर्नुभएको दलले वैकल्पिक शक्ति बन्ने हैसियतको एक छेउ पनि पुग्न सकेको छैन ।
कृष्ण पी पाण्डे
निर्विकल्प हुनु नै हुँदैन । तानाशाही वा एकतन्त्रतिरको पथको गन्ध आऊँछ निर्विकल्प भनिदिँदा । शत्प्रयास र पारदर्शी व्यवहारले सशक्त पार्टी र नेतृत्व निर्माणमा सचेत जोड रहनुपर्छ । बनाउनु अहिलेको खाँचो चै भइसकेको छ । तर दीर्घकालीन सोंचसहित नै आउनुपर्छ ।
खहरेको पारा टिकाउ हुँदैन ।
जीवन राई
परम्परागत शैली त्यग्न सके । तीव्र गतिको आर्थिक विकासलाई कम्तीमा युवाहरु माझ साझा विवेकशीलले स्पष्ट रुपमा सन्देश प्रवाह गर्न सके तपाईंको भनाइलाई सही भन्न सकिन्छ । जसरी माओवादीले एकपटक मुलुकलाई नै सशक्तीकरणका लागि माओवादीमय बनाएको थियो । त्यसरी नै साझा विवेकशीलले आर्थिक क्रान्तिका विषयमा मुलुकभर नै सशक्तीकरणका लागि विश्वास दिलाउन सके निश्चय नै अबको विकल्प शक्ति हुनेछ ।
विष्णु गैरे
सुरु-सुरुमा निकै जोश आउछ । हैछ कि भन्ने हुन्छ । अनि चुनावपछि ठन्डाराम । विवेकशीलको केही भिजन रैनछ । यसको मुख्य भिजन भनेको कांग्रेस र एमालेलाई वाट् लगाउनु हो । यिनीहरूको कार्यक्रममा जतिबेला पनि तिनैलाई खनिएको देखिन्छ । अर्काले गरेको देखि सहन्नन् । अर्काको रिस गर्ने पार्टी आफैं पतन हुन्छ । राप्रपा, जनमोर्चा किन अगाडि आउन सक्दैनन्, यिनीहरूले पनि दिनरात तिनैलाई टोकिरहेका छन् । सायद यही पापले होला आज माओवादीको नाम निशान छैन ।
प्रतिभा डंगोल
वैकल्पिक पनि निर्विकल्प पनि ? निर्विकल्प त हुँदैन, हुनु हुँदैन !
अरुण गिरी
निर्विकल्प त भन्दिनँ तर एउटा विकल्प चै हो ।
जीवन कार्की
जनतालाई एउटै ड्याङ्का १२५ वटा विकल्प छन्, फरक के छ विवेकशील साझामा हामीलाई पनि बुझाइदिनुपर्यो ।
कृष्ण बराल
हास्यापद, फेसबुकको हुन सक्छ मैदानमा २-४ सिट ल्याउला ।
विष्णु भण्डारी
नाम मात्र विवेकशील साझा पार्टी भएर के गर्नु, पद्दति उहि नै छ ।
प्रतिक्रिया