सोमबार, वैशाख २९, २०८२

सरकारले लकडाउनलाई आफ्नो सत्ता जोगाउने सुरक्षा कवचको रुपमा प्रयोग गर्‍याे : कांग्रेस

नेपालखोज २०७८ असार ३ गते १९:३३

काठमाडौं । सरकारले लकडाउनलाई आफ्नो सत्ता जोगाउने सुरक्षा कवचको रुपमा प्रयोग गरेको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ ।

बिहीबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकबारे जानकारी गराउँदै नेपाली कांगेसका नेता प्रकाश शरण महतले सरकारकै उदासिनता र अर्कमण्यताको कारणले कोभिड–१९को विस्तार भएको र लकडाउन गर्नुपर्ने स्थिति आएको भन्दै लकडाउनलाई सरकारले सत्ता जोगाउने सुरक्षा कवचको रुपमा प्रयोग गरिरहेको बताए ।

यसको नेपाली कांग्रेसको बैठकले निन्दा गरेको उनले बताए । उनले भने– ‘लकडाउनको अवस्थामा नागरिकहरु जति नै सरकारसँग असन्तष्ट भएपनि सडकमा निस्किन सक्ने अवस्था छैन, त्यसलाई उहाँहरुले आफ्नो सत्ता जोगाउने कवचको रुपमा लकडाउनलाई लिइरहनु भाछ, त्यो संक्रमणको अवस्थालाई लइरहनुभाछ । संक्रमणबाट उहाँहरु दुखि हुनुपर्ने, यसलाई कसरी चाँडोभन्दा चाँडो कम गर्ने, रोक्ने भन्ने ठाउँमा यसले सत्तामा हामी झन सुरक्षित भयौँ । कोहि विरोधमा निस्किन सक्दैन । बाहीर आउन मिल्दैन भनेर उहाँहरु यसमा सहज महशुस गरिरहनु भाछ ।’

बैठकमा कांग्रेसको केन्द्रीय महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म गर्नेगरी प्रस्ताव पेश भएको छ भने स्थानीय तहको महाधिवेशन साउन १२ गतेबाट गर्ने प्रस्ताव छ । यसबारे छलफल गरेर निष्कर्ष निकालिने नेता महतले बताए ।

महाधिवेशनको सम्बन्धमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ नेपाली कांग्रेसका नेता रमेश लेखकले क्रियाशिल सदस्यता विवादकै कारणले महाधिवेशन प्रभावित नहुने बताए । उनले छिट्टै नै क्रियाशिल सदस्यको सम्बन्धमा परेका उजुरीउपर छलफल गरेर अन्तिम नामावली निकालिने जानकारी दिए ।

उनले भने– ‘६ गतेसम्म उजुरी दिन समय राखेका छौँ । गुनासाहरु आएका छन् । भोलीदेखि गुनासा र उजुरी हेरेर निष्कर्ष निकाल्छौँ । अन्तिम नामावली फाइनल गर्न लाग्छौँ ।’ बैठकले सिन्धुपाल्चोकको बाढीको घटनामा दुःख प्रकट गर्दै तिनै तहको सरकारलाई पूर्ण प्राथमिकताका साथ उद्दार र राहतमा लाग्न भनेको छ ।

प्रतिक्रिया