सोमबार, वैशाख २९, २०८२

यस्तो प्रश्न जसले आत्महत्या गर्न बाध्य बनायो !

नेपालखोज २०७८ असार ४ गते ९:५१

काठमाडौं । केविन कार्टर प्रतिष्ठित पुलित्जर पुरस्कार प्राप्त फ्रान्सेली फोटोग्राफर हुन जसले आफू पुरस्कृत भएको त्यही फोटोका कारण ३३ वर्षको उमेरमै आत्महत्याको बाटो रोजे । आखिर त्यो फोटोमा त्यस्तो के थियो जसले कार्टरलाई पश्चातापको त्यो गहिरो भूमरीमा फसायो जसबाट उनी बाहिर निस्कन सकेनन् र आफ्नो देहत्याग्न बाध्य भए ?

यो कथा अफ्रिकी मुलुक सुडानको हो । सुडानको दक्षिणी क्षेत्र भोकमरीको भिषण मारमा थियो अर्थात् सन् १९९४ को कुरा हो यो । शताब्दीकै ठूलोमध्येको एक भोकमरी झेलिरहेको उक्त क्षेत्रको फोटो रिपोटिङ गर्न कार्टर साउथ सुडान पुगेका थिए । घुम्दै जाँदा उनले लगभग नरकंकालमा परिणत भइसकेकी एक बालिका फेला पारे जो घस्रिँदै आफ्नो घरतर्फ गइरहेकी थिइन् । त्यतिबेला उनका बाआमा खानेकुराको खोजीमा जंगल गएका थिए । ती बालिका भोकले मर्ने अवस्थामा पुगिसकेकी थिइन् र एउटा गिद्द उड्दै उनको नजिक आएर उनको मृत्युको प्रतीक्षा गरिरहेको थियो ताकि मानव सिनो खान पाइयोस् ।

कार्टरका अनुसार उनले करिब २० मिनेट त्यो गिद्द उडेर अन्यत्र जाने प्रतीक्षा गरे तर सिनोको पर्खाइमा रहेको गिद्द टसमस भएन । त्यसपछि कार्टरले आफ्नो क्यामेरा क्लिक गरे त्यो ह्रदयविदारक दृश्य विश्व समुदायसम्म पुर्‍याए अनि त्यही फोटोका लागि उनलाई अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पुलित्जर पुरस्कार प्रदान गरियो जसलाई पत्रकारिता क्षेत्र को सर्वोत्कृष्ट पुरस्कार पनि मानिन्छ ।

कार्टर यो पुरस्कारको खुसीमा थिए, उनको समाचार विभिन्न सञ्‍चारमाध्यमहरुमा छाइरहेको थियो र चारैतिरबाट उनी प्रकशित भइरहेका थिए । कार्टरलाई अन्तर्वार्ता दिन भ्याईनभ्याई थियो । तिनै अन्तर्वार्ताका क्रममा कसैले कार्टरसँग सोध्यो- कि ती बालिकाको के भयो ? उसका बाबु-आमा कति बेला घर फर्किए ? के उनी आफ्नो घर पुगिन् ? कार्टरले जवाफ फर्काए- खै , त्यो त मलाई थाहा भएन । म फर्कने हतारमा थिएँ । मेरो फ्लाइटको समय भइसकेको थियो ।

उताबाट फेरि अर्को प्रश्‍न आयो त्यहाँ कतिवटा गिद्द थिए ? कार्टरले भने- जहाँसम्म मलाई सम्झना छ केवल एउटा । त्यसपछि प्रश्‍नकर्ताले जे भने त्यसले कार्टरको होस्-हवास् मात्र उडाएन उनलाई पश्चातापको त्यस्तो भूमरीमा धकेल्यो जसबाट उनी उम्कनै सकेनन् र आत्महत्या गर्दै आफ्नो इहलिला समाप्त पारे । उक्त अन्तर्वार्तामा प्रश्‍नकर्ताले त्यस्तो के सोधेका वा भनेका थिए त ? भनिन्छ- उनले कार्टरको पछिल्लो जवाफमा प्रतिक्रिया जनाउँदै भनेका थिए- ‘होइन त्यहाँ दुईवटा गिद्द थिए र अर्को गिद्दको हातमा चाहिँ क्यामेरा थियो ।’

प्रश्‍नकर्ताको आशय बुझेर कार्टर निकै दु:खी भए, उनलाई ती बालिकाको सम्झनाले निकै सताउन थाल्यो । हीनता र अपराधबोधले उनी भित्रभित्रै पिल्सिन थाले अनि केही दिनपछि नै उनले आत्महत्या गरे । कार्टरलाई पश्चाताप थियो कि उनले ती बालिकालाई बचाउने प्रयास गरेनन्, यहाँसम्म कि उनले यो बुझ्‍ने प्रयाससम्म गरेनन् कि ती बालिका मरिन् कि गिद्दको आहारा हुनबाट जोगिइन् ? उनी त केवल आफ्नो व्यावसायिक धर्म निर्वाह गरेर ती बालिकालाई गिद्दकै जिम्मा लगाएर पेरिस फर्किए ।

उनमा ती बालिकालाई मद्दत नगरेकामा निकै ठूलो पछुतो थियो र ग्लानि पनि भइरहेको थियो । यही मानसिक अन्तरद्वन्द्व र अशान्ति बीच उनी गहिरो डिप्रेसनमा पुगे । केविनले आफ्नो सुसाइट नोटमा लेखे कि- म तमाम मृत्यु र लाशहरु, भोकले तडपिरहेका बालबालिका अनि दु:ख र पीडाले भरिएको त्यो सम्झनाले घेरिएको र निकै भयभित महसुस गरिरहेको छु ।

करिब ३० वर्षपछि आजको यो डिजिटल संसारमा लाखौं केविन कार्टर जन्मिसकेका छन् जो हातमा क्यामेरा वा मोबाइल बोकेर कुनै कोभिड महामारी, भूकम्प वा ठूलो बाढी-पहिरोको प्रतीक्षामा हुन्छन् । उनीहरुका लागि यी मानवीय संवेदनाका विषय होइनन् । हुन त केवल युट्युबको कन्टेन्ट अथवा फेसबुक पोस्टमार्फत लाइक र कमेन्ट बटुल्ने बाटो वा तिनको बिक्री गरेर धन कमाउने मेलो ।

प्रतिक्रिया