पार्टी आधिकारिकताको माग गर्दै जसपा यादव पक्षले बुझायो निर्वाचन आयोगमा निवेदन (भिडियोसहित)

नेपालखोज २०७८ असार ४ गते १६:३०

काठमाडौं । पार्टीको आधिकारिकता माग गर्दै जनता समाजवादी पार्टी, नेपालको उपेन्द्र यादव पक्षले निर्वाचन आयोगमा निवेदन दिएको छ । जसपा अध्यक्ष यादवसहितका नेताहरु शुक्रबार निर्वाचन आयोगमा पुगेर पार्टीको आधिकारिकताको माग गरेका हुन् ।

जसपामा महन्थ ठाकुर पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा समावेश भएसँगै यादव र महतो पक्षले एक अर्कालाई कारबाही गरी पार्टीबाट हटाएका छन् भने दुवै पक्षले जसपाको नाम, लोगो प्रयोग गर्दै आफुलाई आधिकारिक बताइरहेका छन् ।

यसै सन्दर्भमा यस अघि एकअर्कालाई कारबाही गरेर हटाएको पत्र अद्यावधिक गर्न निर्वाचन आयोगमा दुवै समुहले दिएको भएपनि आयोगले विवादको निरुपण गर्ने गरी आउन आग्रह गरे अनुरुप यादव पक्ष पार्टी विवादको निरुपण गर्नेगरी आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग पुगेको हो ।

जसपाले बिहीबार केन्द्रीय कार्याकारिणी समितिको बहुमत सदस्यको बैठक बसि पार्टीको आधिकारिकताको दाबी गर्ने निर्णय गरेको थियो । जसपाका नेता राजेन्द्र श्रेष्ठले राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ अनुरुप आधिकारिकताको दाबी गरिएको बताए ।

उनले भने – ‘तपाईहरुको बीचमा दुई पक्ष देखिएको हुँदा विवाद निरुपणको प्रावधानबाट आउनुभयो भने हामीलाई सजिलो हुन्छ भनेर उहाँहरुले भनिसकेपछि हामीले अहिले विवाद निरुपणको प्रावधान अनुसार राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ त्यस अनुरुप नै आधिकारिकता दाबी गरेर आज निवेदन दिएका छौँ ।’

निर्वाचन आयोगले यसलाई नियम कानुन अनुसार छिटोभन्दा छिटो प्रक्रिया प्रारम्भ गर्ने प्रतिक्रिया दिएको नेता श्रेष्ठले जानकारी दिए । उनले पार्टीको आधिकारिकता आफुहरुले पाउने दाबी पनि गरे ।

उनले भने – ‘राजनीतिक दल सम्बन्धी ऐनको दफा ४४ को उपदफा (६) अनुसार स्पष्टको साथ जुन पक्षको बहुमत छ उसले आधिकारिक रुपमा नाम, पार्टीको झण्डा, चुनाव चिन्ह लगायत सबै आधिकारिकता पाउँछ जसले त्यो पुर्‍याउन सक्दैन उनीहरुलाई नयाँ दल दर्ता गर्न अवसर दिइनेछ भन्ने व्यवस्था छ भन्ने उल्लेख भएको हुँदाखेरी त्यसमा कुनै समस्या छैन ।’ उनले महन्थ ठाकुर पक्षले उपेन्द्र यादव पक्षलाई गरेको कारबाही मान्य नहुने पनि बताएका छन् ।

प्रतिक्रिया