बाढीपहिरोका कारण देशका १६ सडक बन्द

नेपालखोज २०७८ असार ६ गते १५:०६

काठमाडौं । बाढी र पहिरोका कारण देशका १६ वटा सडक बन्द भएका छन् । मनसुन सुरु भएपछि पहिरो तथा बाढीका कारण बन्द भएका राजमार्गसहितका ५१ वटा सडकमध्ये २४ वटा एकतर्फी सञ्चालनमा आएका छन् । एघार वटा सडक भने मर्मतपछि नियमित सञ्चालनमा आइसकेका छन् ।

पछिल्लो पटक खोड्पे–चैनपुर सडक अन्तर्गत बझाङको तमैलमा मर्मतपछि सडक खुलेको छ । साँफेबगर–मार्तडी–कोल्टी सडक खण्ड अन्तर्गत बाजुराको बार्जुगाड र हड्डे खोलामा पहिरो झरेको छ । गएको असार १ गतेदेखि बन्द यो सडक भोलिसम्ममा खुलाउने तयारी भएको विभागले जनाएको छ ।

त्यस्तै डुम्रे–बेसीसहर–चामे सडक खण्ड अन्तर्गत मनाङ र लमजुङका विभिन्न भागमा सडक भत्केको छ । मनाङको तिमाङ छहरामा गएको जेठ ३१ गते तथा धारापानी, बगरछापलगायतका ठाउँमा असार ३ गतेदेखि बन्द सडक आउँदो २० गतेसम्म खुलाउने गरी तयारी भइरहेको छ । अरनिको राजमार्ग अन्तर्गत काठमाण्डौ–कोदारी सडक सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोले बन्द छ ।

प्रतिक्रिया