राष्ट्रपतिद्वारा गुणस्तरीय स्वास्थ्य सेवा र वैकल्पिक उपचारमा लगानी बढाउन सुझाव

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग कोभिड–१९ रोकथाम र नियन्त्रणमा भइरहेको कामबारे जानकारी लिएकी छन् ।
उनले स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलगायत मन्त्रालयका पदाधिकारीलाई राष्ट्रपति भवन शीतलनिवासमा आइतबार बोलाएर अहिले कोभिड-१९ सङ्क्रमण र त्यसविरुद्धको खोप अभियानको वर्तमान अवस्था, उचित व्यवस्थापन, रोकथाम र समग्र स्वास्थ्य प्रणालीको व्यवस्थापनको लागि भइरहेका तयारीबारे जानकारी लिनुभएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिएकी हुन् ।
सो अवसरमा राष्ट्रपति भण्डारीले कोभिड-१९ सम्बन्धी भएका कामलाई थप प्रभावकारी एवं व्यवस्थित बनाउन र नेपाली जनताको जीवनरक्षाका लागि खोप अभियानलाई प्राथमिकताका आधारमा सञ्चालन गर्नुपर्ने बताइन् ।
उनले आगामी दिनमा कोभिड-१९ को सङ्क्रमणबाट हुनसक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न प्रतिकार्य योजना बनाई कार्य गर्न आग्रह गरे ।
राष्ट्रपति भण्डारीले स्वास्थ्य सेवा राज्यको जिम्मेवारी भएकाले स्वास्थ्य संस्थाको स्तरोन्नति र सबलीकरण गर्ने, आम नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन र वैकल्पिक तथा प्राकृतिक उपचारमा लगानी बढाउन सुझाव दिइन् ।
यस्तै बहुक्षेत्रीय सहयोग र सहकार्य अभिवृद्धि गर्न तथा विश्वविद्यालयसँग सहकार्य गरी अनुसन्धानमा जोड दिन राष्ट्रपतिले आग्रह गरिन् । उनले कान्ति बाल अस्पतालको सुधार गरी बालबालिकाका लागि उपयुक्त स्वास्थ्य सेवाको व्यवस्था गर्न र निजी तथा सामुदायिक अस्पतालको सेवालाई सहज बनाउनुपर्नेमा पनि जोड दिइन् ।
सो अवसरमा राष्ट्रपति भण्डारीले कोभिड–१९ को रोकथाम र नियन्त्रणका भूमिका खेल्ने चिकित्सक, नर्स र स्वस्थ्यकर्मीको प्रशंसा गरेकी थिइन् ।

रासस
रासस नेपालको राष्ट्रिय समाचार एजेन्सी हो । नेपालखोज राससको आधिकारिक ग्राहक पनि हो ।
प्रतिक्रिया