नेपालमा काेराेना भाइरसकाे थप नयाँ भेरियन्ट पुष्टि
काठमाडाैं । नेपालमा काेराेना भाइरस (काेभिड-१९) काे थप नयाँ भेरियन्ट पुष्टि भएकाे छ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालमा काेराेना भाइरसकाे थप नयाँ भेरियन्ट पत्ता लागेको जानकारी गराएको हो ।
वैशाख २६ देखि जेठ २० सम्म देशभरबाट सङ्कलित नमुनाकाे राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा छनाेट गरी ४८ वटा नमुना विश्व स्वास्थ्य सङ्गठनकाे नेपालमा रहेकाे कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयकाे सहयाेग र समन्वयमा भारतकाे नयाँ दिल्लीमा रहेकाे आईजीआईबी मा सिक्वेन्सिङका लागि जेठ २६ गते पठाइएकाे थियाे ।
ती नमुनाकाे जिनाेमिक पहिचान गर्दा ४७ जमुनामा डेल्टा भेरियन्ट (बी.१.६१७.२) पुष्टि भएकाे र एउटा नमुनामा अल्फा भेरियन्ट (बी.१.१.७) पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ ।
४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये नाै वटामा थप उत्परिवर्तन के ४१७एन म्युटेसन भेटिएकाे थियाे र यसलाई एवाई.१ नाम दिइएकाे छ । अहिलेसम्म याे म्युटेसन नेपालसहित विश्वका १० भन्दा धेरै देशमा पुष्टि भएकाे मन्त्रालयले जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
प्रतिक्रिया