देउवाले भने- निधिलाई फकाउँदिनँ
नेपाली कांग्रेसको सभापतिको दौडमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, सुजाता कोइराला, शशांक कोइराला र शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औं महाधिवेशनमा आफ्नै समूहबाट सभापतिका आकांक्षी विमलेन्द्र निधिलाई नफकाउने उद्घोष गरेका छन् । उनले आफूनिकटका केन्द्रीय सदस्यहरुसँगको छलफलमा निधिलाई सहमतिमा ल्याउन थप प्रयत्न नगर्ने स्पष्ट पारेका छन् ।
निधिलाई सभापतिमा उम्मेद्वारी दिन पाउने अधिकारलाई भने आफूले वञ्चित नगर्ने देउवानिकटका नेता मोहनबहादुर बस्नेतले जानकारी दिए । उता निधि सभापतिमा उम्मेद्वार दिने तयारीमा रहेकाले केन्द्रीय सदस्यहरुले सहमतिमा ल्याउनुपर्ने भन्दै देउवालाई सुझाएका थिए । पुन: सभापतिमा उम्मेदवारी दिने विषयमा देउवा निरन्तर छलफलमै छन् । उता निधि पनि देउवाकै समर्थनमा सभापति बन्ने भन्दै आफूनिकट केन्द्रीय सदस्यहरुसँग छलफल चलाइरहेका छन् ।
देउवाले सभापतिमा चुनाव लड्नेबारे प्रदेशगत रुपमा छलफल चलाएका छन् । हिजो मात्र सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका नेताहरुले पनि निधिलाई सहमतिमा ल्याउन देउवालाई सुझाएका थिए ।
तर सभापति देउवाले भने आफूले निधिलाई धेरैपटक सहमतिका लागि आग्रह गरिसकेकाले अब थप प्रयत्न नगर्ने अडानमा छन् ।
नेविसंघको राजनीतिदेखि नै देउवालाई साथ दिँदै आएका निधिले हिजो मात्र बानेश्वरमा शशांक कोइराला र प्रकासमान सिंहलगायत नेताहरुसँग छलफल गरेका थिए । निधिले यसपटक जसरी भए पनि सभापतिमा उम्मेद्वारी दिने भन्दै सञ्चारमाध्यममार्फत अभिव्यक्तिहरु सार्वजनिक गरिरहेका छन् ।
आसन्न महाधिवेशनमा देउवासँगै निधिले चुनावी अभियान थालिसकेका छन् । रामचन्द्र पौडेल समूहमा कोइराला परिवारबाटै सुजाता कोइराला, शशांक कोइराला र शेखर कोइराला गरी सभापतिका तीनजना आकांक्षी छन् । यस्तै रामचन्द्र पौडेल र प्रकाशमान सिंह पनि नेपाली कांग्रेसको सभापतिको दौडमा देखिन्छन् ।
प्रतिक्रिया