अर्को वर्षसम्म म्यानमारको आधा जनसंख्या गरिबीको रेखामुनि जानसक्छ : राष्ट्रसंघ
काठमाडौं । संयुक्त राष्ट्रसंघले अर्को वर्षसम्म म्यानमारको आधा जनसंख्या गरिबीको रेखामुनि जानसक्ने जनाएको छ । म्यानमारका लागि राष्ट्रसंघीय महासचिवका विशेष प्रतिनिधि क्रिश्टिन स्क्रानर बर्जनरले अर्को वर्षसम्म म्यानमारको आधा जनसंख्या गरिबीको रेखामुनि जानसक्ने जानकारी आफूले सुरक्षा परिषदलाई दिएको पनि बताएका छन् ।
साथै उनले म्यानमारमा सेनाले सत्ता हत्याए यताको ५ महिनाको अवधिमा १ लाख ७५ हजार मानिस विस्थापित भएको पनि बताएका छन् । बर्जनरले सुरक्षा परिषदलाई करीब १० हजार शरणार्थी भारत र थाईल्याण्ड भागेको जानकारी दिएका छन् ।
विशेष प्रतिनिधिले म्यानमारको अहिलेको अवस्था निकै चिन्ताजनक र खराब रहेको पनि बताएका छन् । यसबीचमा ६ सय जना मारिएको, ६ हजार जना पक्राउ परेको र सय जना मानिस अहिले पनि हराईरहेको भन्दै उनले पक्राउ परेका मध्ये ५ हजार जना अहिले पनि थुनामा रहेको बताएका छन् । थात थलो छाडेका मध्ये अधिकांश स्थानीय स्तरमै विस्थापित बनेको बनेको उनको भनाइ थियो ।
प्रतिक्रिया