मंगलबार, वैशाख ३०, २०८२

केलाई भनिन्छ भेरियन्ट ? याे कत्तिको घातक छ ?

नेपालमै भेटियो डेल्टा भेरियन्टको परिवर्तित रूप

मीना साउँद २०७८ असार ८ गते १८:४६

काठमाडौं । नेपालमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि भन्दै देशका धेरै ठाउँमा अहिले निषेधाज्ञा जारी छ ।

पहिलो लहरको संक्रमण नियन्त्रणमा आएर अवस्था केही सामान्यतर्फ जाँदै गर्दा फेरि दोस्रो लहर फैलिएपछि अहिले सम्पूर्ण क्षेत्र तहसनहस भएको छ । निषेधाज्ञाका कारण करिब दुई महिनादेखि सबै क्षेत्र ठप्प छन् । जसले गर्दा सम्पूर्ण अर्थतन्त्र नै चलायमान हुन सकेको छैन् ।

सन् २०१९ डिसेम्बरको अन्तिम साता पहिलोपटक चीनको वुहान क्षेत्रमा देखापरेको कोरोना संक्रमणले करिब दुई वर्ष सिंगो विश्वलाई नै त्राहिमाम् बनाएको छ । संक्रमण फैलिएको करिब १ वर्षको अथक प्रयासपछि विश्वका विभिन्न ठूला मुलुकले संक्रमणविरुद्धको खोप उत्पादन गरी अहिले धेरै मुलुकले त्यसलाई प्रयोग गरिरहेका छन् । तर खोपका बाबजुत पनि धेरै मुलुकमा संक्रमणको दोस्रो, तेस्रो लहर फैलिरहेको छ । खोप लगाएका व्यक्तिमा पनि पुनः संक्रमण देखिरहेको छ । सुरुमा वैज्ञानिकहरूले कोरोना भाइरस (कोभिड १९) नामकरण गरिएको यो भाइरसले तेस्रो लहरसम्म आइपुग्दा विभिन्न ठाउँमा आफ्नो परिवर्तित रूप देखाइरहेको छ । जसलाई विश्व स्वास्थ्य संगठनले विभिन्न नामकरण पनि गरेको छ ।

हालसम्म भेटिएका कोरोनाका भेरियन्टहरू के के हुन् ?
पहिलोपटक पहिचान भएको देशको नामको आधारमा राखिने गरेको कोभिड-१९ को भेरियन्टको नामबारे विवाद हुन थालेपछि विश्व स्वास्थ्य संगठनले कोभिड भाइरसको नयाँ भेरियन्टको नामकरण गरिदिएको छ । डब्ल्यूएचओले भेरियन्ट अफ कन्सर्नभित्र परेका भेरियन्टलाई ग्रिक अल्फाबेटका आधारमा नाम दिएको हो ।

डब्ल्यूएचओले बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बेटा’, भारतमा भेटिएको भेरियन्ट (बी १.६१७.२) लाई ‘डेल्टा’ नाम दिएको छ । भारतमै फेला परेको अर्को भेरियन्ट (बी-१.६१७.१) लाई ‘कप्पा’ नाम दिइएको छ । नेपाल हालसम्म बेलायतमा भेटिएको अल्फा (बी.१.१.७), भारतमा भेटिएको डेल्टा (बी १.६१७.२) तथा कप्पा (बी–१.६१७.१) देखिएको छ ।

नेपालमा डेल्टा भेरियन्टको परिवर्तित रूप फेला
नेपालमा कोभिड-१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रूप फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पुष्टि गरेको छ । भारतको नयाँ दिल्लीमा अनुवांशिक (जिन सिक्यन्सिङ) गर्दा डेल्टा भेरियन्टको नयाँ रूप नौ वटा नमुनामा फेला परेको मन्त्रालयले जनाएको छ ।

नमुना परीक्षणमा अनुवांशिक पहिचान गर्दा ४७ डेल्टा भेरियन्ट पुष्टि भएकामध्ये नौवटामा थप उत्परिवर्तन रूप केफोरवानसेभेन एन म्युटेसन देखिएको छ । हाल नेपालसहित विभिन्न १० देशमा यो भेरियन्ट देखिसकेको छ ।

डेल्टाको उत्परिवर्तन भेरियन्ट बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर गर्ने मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताएका छन् । तर, जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितले भने नेपालमा अहिले देखिएको भाइरस डेल्टा भाइरसको थोरै परिवर्तित भेरियन्ट भएकाले यसलाई धेरै जोखिमका रुपमा लिन नपर्ने बताएका छन् । स्वास्थ्य सावधानी भने अपनाउनुपर्ने उनको भनाइ छ ।

यसअघि भारतका विभिन्न राज्यमा यो भेरियन्ट पुष्टि भएको थियो । अहिलेसम्म बिटा भेरियन्टमा पाइएको म्युटेसन (उत्परिवर्तन) अब डेल्टासम्म पुगेको छ, जसलाई भारतमा डेल्टा प्लस भनिएको छ । वैज्ञानिकहरूले भने यो म्युटेसनलाई केफोरवानसेभेन एन नाम दिएका छन् । भारतीय मिडियाको रिपोर्टअनुसार भारतका महाराष्ट्र, गुजरात, ओडिसा, कर्नाटक र आन्ध्र प्रदेशमा यसको संक्रमण बढी पाइएको छ ।

केलाई भनिन्छ भेरियन्ट ?
सतहहरूमा भएका प्रोटिनहरूमा केही परिवर्तन आउनुलाई भेरियन्ट भनिन्छ । जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितका अनुसार अहिले नेपालमा देखिएको भनिएको नयाँ भेरियन्ट यसअघि देखिएको डेल्टाको थोरै परिवर्तित रुप हो । जसलाई के फोर वान सेभेन एन म्युटेसन भनिन्छ ।

केफोरवानसेभेन एन म्युटेसन कोराना भाइरसको प्रोटिनको सुइरोमा हुने म्युटेसन हो । कोरनाको फेरिरहने रुपलाई वैज्ञानिकहरूले अनुसन्धान गरिरहन्छन् । जसलाई चित्कित्सकको भाषामा होल जिन स्विक्वेन्सिङ भनिन्छ ।  

नयाँ भेरियन्ट कतिको घातक ?
डेल्टाको उत्परिवर्तन भेरियन्टलाई बढी संक्रमक मानिएको छ । यो भेरियन्ट सबै उमेर समूहका व्यक्तिमा असर गर्ने भएकाले यसलाई बढी संक्रामक मानिएको हो । नेपालमा अहिले देखिएको केफोरवानसेभेन एन भेरियन्ट नयाँ देखिएको भन्नुभन्दा पनि डेल्टा जति संक्रामक छ यो पनि त्यति नै हो भन्ने मान्नुपर्ने जनस्वास्थ्यविद् डा. दीक्षितले बताए ।

पछिल्लो समय कोरोना संक्रमण म्युटेन्ट हुँदै गइरहेको छ । तर, म्युटेन्ट भएको सबै भेरियन्ट संक्रामक नै हुन्छ भन्ने नहुने जनस्वास्थ्यविद् बताउँछन् । यो म्युटेन्ट हुँदै जान्छ । भने यसले पार्ने असर पनि फरक हुन सक्छ । जसरी एउटी आमाको कोखबाट जन्मिएका सन्तान एउटै हुँदैनन् त्यसैगरी म्युटेन्ट भएको भाइरस पनि सबै एउटै किसिमको हुँदैन ।

कोरोना संक्रमण जति धेरैमा फैलिँदै गयो । भाइरसले त्यति नै रुप परिवर्तन गर्दै जान्छ । त्यसैले यसबाट तर्सने वा आत्तिने नभई कोरोना संक्रमणबाट बच्नका लागि भने सजगता अपनाउनुपर्छ । हाल काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा निषेधाज्ञा खुकुलो पारिएको छ । लामो समयदेखि निषेधाज्ञा जारी रहेका कारण आमनागरिकलाई दैनिक गुजारा गर्न समेत मुस्किल परेको भन्दै आजदेखि काठमाडौं उपत्यकासहित धेरै ठाउँमा निषेधाज्ञाको मोडालिटी परिवर्तन गरिएको छ । निषेधाज्ञा खुकुलो पारिएसँगै कोरोना संक्रमणको जोखिम भने बढेको छ ।

त्यसैले अब भने आमनागरिकले जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्ने डा. दीक्षितको सुझाव छ । अघिल्लो वर्षजस्तै निषेधाज्ञा खुकुलो भयो भन्दै जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना नगरिए फेरि पनि संक्रमण फैलिएर पुनः निषेधाज्ञामा फर्किनुपर्ने स्थिति नआउन भन्न सकिन्न । अब भने जनस्वास्थ्यका मापदण्डलाई पालना गर्दै जीवनस्तरलाई सामान्य अवस्थातर्फ फर्काउन आमसर्वसाधारणदेखि सरकारी संयन्त्रले समेत विषेश ध्यान दिन जरुरी छ ।उनले भने, ‘कोरोना संक्रमणबाट जोगिने भनेकै स्वास्थ्य मापदण्डको पालनाबाट हो । आफैं सचेत भएर स्वास्थ्य मापदण्ड पालना गर्ने हो भने कोरोनाको जस्तोसुकै भेरियन्ट आए पनि संक्रमणबाट जोगिन सकिन्छ ।’

प्रतिक्रिया