मंगलबार, वैशाख ३०, २०८२

बागलुङमा २८ वडा पहिरोको उच्च जोखिममा

रासस २०७८ असार ९ गते १२:५५


बलेवा । यस वर्ष बागलुङमा पहिराका कारण ३० हजार जनसङ्ख्या प्रभावित हुने पूर्वानुमान गरिएको छ । बागलुङका २८ वडा पहिराको उच्च, २४ वडामा पहिराको मध्यम र आठ वडा न्यून जोखिममा रहेका छन् । पहिराको उच्च, मध्यम र न्यून जोखिमलाई आकँलन गरेर पहिरो प्रभावितको सङ्ख्या तयार पारिएको हो ।

मनसुन सुरू भएसँगै जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको ‘मनुसन आपत्कालीन कार्ययोजना–२०७८’ले जिल्लाका अधिकांश भूभाग पहिराबाट प्रभावित हुने तथ्याङ्क तयार गरेको हो ।

जिल्लाभर पहिराका कारण तीन हजार ५०० देखि चार हजार घरमा क्षति हुनसक्ने कार्ययोजनामा उल्लेख छ । पहिराको जोखिममा सामुदायिक विद्यालयसमेत परेका छन् । यस वर्ष २० सामुदायिक विद्यालय भवनमा पहिराले प्रभाव पार्नसक्ने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

तीमध्ये केही पूर्ण रुपमा र केही आंशिक प्रभावित हुनेछन् । मनसुनजन्य विपत्पछिको प्रतिकार्य पुनस्र्थापना र राहत तथा उद्धारका लागि विपत् व्यवस्थापन समितिले कार्ययोजना बनाएर काम थालेको हो । पूर्वानुमानअनुसार सबै तहमा व्यवस्थापनको काम भइरहेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।

‘हामीले स्थानीय तहसँग जोखिमबारे छलफल गरेर तथ्याङ्क तयार गरेका छौं, सोही अनुसार जोखिमसँग जुध्न सबै सरोकारवालालाई तयार रहन निर्देशन दिएका छौं’, कार्कीले भने ।

विपत् व्यवस्थापन समितिले कार्ययोजना पारित गरेर कार्यान्वयनमा ल्याएको छ । कार्ययोजनाअनुसार तीन हजार ४४३ पाँच वर्षमुनिका बालबालिका बाढीपहिराबाट प्रभावित हुनेछन् ।

त्यस्तै ६० वर्षमाथिका ज्येष्ठ नागरिकको तथ्याङ्कसमेत धेरै छ । तीन हजार ६९९ ज्येष्ठ नागरिक प्रभावित हुने पूर्वानुमान छ । गर्भवती ७६५ र सुत्केरी एक हजार ४०४ जना प्रभावित हुने अनुमानित तथ्याङ्क रहेको कार्कीले जानकारी दिए ।

बागलुङमा रहेका विभिन्न नदी तथा खोला किनारका बस्तीसमेत बाढीको उच्च जोखिममा रहेको कार्ययोजनामा उल्लेख छ । कालीगण्डकी, बडिगाड, दरमखोला, निसीखोला, भुजीखोला, तमानखोला, ठेउलेखोला, अँधेरीखोला, दरौँदीखोला, उत्तरगङ्गालगायत खोला तथा नदी किनारका बस्तीहरु बाढीको जोखिममा छन् ।

‘यहाँका सबै खोला किनारका तटीय क्षेत्र जोखिममा छन्’, विपद् व्यवस्थापन समितिले भनेको छ, “पूर्व तयारीमा खोला किनारका बस्तीहरु रहन आवश्यक छ ।’ कार्ययोजनाले उद्धार राहत तथा पुनस्र्थापना र सचेतनाका लागि उपलब्ध साधन स्रोतको समेत तथ्याङ्क तयार गरेको छ ।

‘उद्धार सामग्रीदेखि पुनस्र्थापनाका लागि आवश्यक योजना समेतमा छलफल भयो’, जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी गणेश गौतमले भने, ‘सबै सरोकारवाला सतर्क रहने र तत्काल उद्धारमा लाग्ने भन्ने छ ।’

जिल्लाका अधिकांश बस्ती सडक, भल र बाढीका कारण जोखिममा रहेको स्थानीय तहहरुले पूर्वानुमान गरेका छन् । स्थानीय तहले गत वर्ष तयार गरेको बाढी पहिरोपीडितको तथ्याङ्क र यस वर्षको सम्भावित जोखिमको अवस्था हेरेर तथ्याङ्क तयार भएको हो

रासस

रासस नेपालको राष्ट्रिय समाचार एजेन्सी हो । नेपालखोज राससको आधिकारिक ग्राहक पनि हो ।

प्रतिक्रिया