राष्ट्रपतिको भूमिका शंकास्पद : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीले लोकतन्त्र, गणतन्त्र र संविधानमाथि प्रहार गर्दै जाने र राष्ट्रपतिले सदर गर्दै गएमा लोकतन्त्र नरहने बताएका छन् ।
बिहीबार विपक्षी गठबन्धनको तर्फबाट सम्पादकहरुसँग आयोजित अन्तरक्रियामा बोल्दै यादवले राष्ट्रपतिले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति नगरेका कारण उनको भूमिका शंकास्पद र प्रश्नबाचक रहेको पनि बताए ।उनले सर्वोच्च अदालतले संविधान र लोकतन्त्रको पक्षमा, न्यायको पक्षमा फैसला गर्ने विश्वास पनि व्यक्त गरे ।
उनले भने– ‘विघटन लोकतन्त्र र संविधानलाई समाप्त पारेर स्वेच्छाचारी लाद्नका लागि गरेका हुन् । प्रधानमन्त्रीका लागि किन आह्वान गरियो र आह्वान मुताविक दावा पेश गर्दा किन प्रधानमन्त्री नियुक्त गरिएन ? राष्ट्रपतिको भूमिका पनि प्रश्नबाचक र शंकास्पद छ । कि त भन्नुपर्यो ओली बाहेक अरुलाई प्रधानमन्त्री देख्नै सक्तिनँ म भनेर । नत्रभने प्रधानमन्त्रीको रुपमा नियुक्त नगर्नुपर्ने कारण नै छैन् । मुलुकमा लोकतन्त्र, गणतन्त्र र संविधान माथि नै प्रहार भएको छ । कार्यकारी प्रमुखबाट प्रहार हुने र राष्ट्रपतिले सदर गर्दै जाने हो भने लोकतन्त्र रहन्न । लोकतन्त्र नरहे शान्ति, समृद्धि र स्थिरता अगाडी बढ्न सक्दैन ।’
त्यस्तै, राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले संसद विघटनका विदेशी शक्तिको हात रहेको दाबी गरेका छन् । उनले भारतीय गुप्तचर प्रमुख नेपाल आएपछि नेपालको राजनीतिमा अप्रत्याशित रुपमा फेरबदल भएको टिप्पणी गरे ।
प्रतिनिधि सभा विघटनविरुद्धको कदममा ०६२/०६३ को जनआन्दोलनका सहयात्री दलहरु एक हुनुपर्ने उनले बताए । साथै प्रतिगमनको विरोधमा पाँच राजनीतिक दलहरु एकै ठाउँ उभिएपछि प्रगमन परास्त हुने उनले दाबी गरे । सत्तारुढले सत्ताको आडमा अल्मल्याउन, जालझेल गर्न तथा षडयन्त्रहरु गर्नसक्नेमा सचेत हुँदै संयुक्त आन्दोलन गर्नुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया