‘अहिलेको संघर्ष प्रधानमन्त्री कसलाई बनाउने भन्ने नभई राष्ट्र हितको पक्षमा उभिने र नउभिनेबीचको हो’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षा गर्दै संविधानको समयानुकुल परिमार्जन गर्ने उद्देश्यको जगमा पाँच दलिय गठबन्धन सम्भव भएको बताएका छन् । बिहीबार विपक्षी गठबन्धनको सम्पादकहरुसँगको छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले विपक्षी दलहरुबीचको गठबन्धन सद्धान्तिक, व्यवहारिक, राजनीतिक र राष्ट्रिय भावनाको आधारलाई समेटेर बनाइएकोले लामो समयसम्मसँगसँगै जान सक्ने बताए ।
उनले संविधानको रक्षा गर्दै समयानुकुल परिमार्जन गर्दै लैजाने उद्देश्यमा केन्द्रीत रहेर गठबन्धन बनेको बताए । अहिलेको संघर्ष प्रधानमन्त्री कसलाई बनाउने भन्ने नभई राष्ट्रको हितको पक्षमा उभिने र नउभिनेबीचको रहेको बताएका छन् ।
उनले ०४६ साल र ०६२÷०६३ सालमा लोकतन्त्रवादी र वामपन्थीको मिलेमतोमा आन्दोलन सफल भएको उल्लेख गर्दै अहिलेपनि केपी ओलीको निरंकुशताले लोकतन्त्रवादी र वामपन्थीलाई एकै ठाउँमा ल्याइपु¥याएकाले आन्दोलन सफल हुने बताए । उनँले भने– ‘सैद्धान्तिक, व्यवहारिक, राजनीतिक र राष्ट्रिय भावनाको आधारलाई पनि समेटेर जानुपर्छ भन्ने निष्कर्षसहित गठबन्धन अगाडी गएको छ । यो गठबन्धन कुनै अवसरवादी गठबन्धन होइन । प्रधानमन्त्रीको निम्ति भएको संघर्ष पनि होइन । यो संविधान, लोकतन्त्र र राष्ट्रको हितको पक्षमा उभिने र नउभिने बिचको लडाइँ हो । सिस्टम बचाउने वा नबचाउने भन्ने विचको लडाइँ हो ।’
अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतमा आफुहरुको कुनै सेटिङ नभएको पनि बताएका छन् । मन्त्री नियुक्ति बदर गर्ने सर्वोच्चको फैसला अघि आफुले बोलेको कुरालाई सेटिङ भन्दै टिप्पणी गरिएको भन्दै उनले आफुहरु सेटिङ गरेर शासन गर्नेवाला नभएको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले न्यायाधिश र राज्यका अन्य निकायलाई प्रभावमा राख्ने प्रयास गरेको उनले जिकिर गरे ।
राष्ट्रपतिले आफ्नो मान, सम्मान गुमाएको पनि उनको भनाई छ । सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिदैँ उनले एमसीसीको सम्बन्धमा संसदबाट सहमती गराएर राष्ट्रिय हित अनुकुल अगाडी बढाउने पनि बताएका छन् ।

प्रतिक्रिया