सिन्धुपाल्चोकका बाढी पीडितलाई राहत, पुनःस्थापनाको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

नेपालखोज २०७८ असार ११ गते १६:५४
फाइल फोटो

काठमाडौं । सिन्धुपाल्चोकका बाढी पीडितलाई राहत, पुनःस्थापना तथा भौतिक संरचनाको पुनर्निर्माणको माग गर्दै नेकपा(एमाले) वाग्मती प्रदेश कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेकपा (एमाले) वाग्मती प्रदेश संगठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलसहितको टोलीले सिन्धुपाल्चोक बाढीमा परी ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति र राहत तथा विस्थापित ४ सय परिवारलाई राहत र पुनःस्थापनाको माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

प्रधानमन्त्री ओलीसँग नदीहरुको नियन्त्रण, खानेपानी, विद्युत्, सडक, पुल लगायतका विग्रिएका संरचनाहरुको तत्काल पुनःनिर्माण गर्नपनि एमाले वाग्मती प्रदेश कमिटीले ध्यानाकर्षष गराएको छ । ज्ञापनपत्रमा मृतकको परिवारलाई क्षतिपूर्ति दिदैँ घाइतेहरुको उपचार खर्च सरकारले बेहोर्नुपर्ने, दिर्घकालीन एकिकृत पुनःनिर्माणको लागि कार्य प्रारम्भ गरिनुपर्ने, ४ सय परिवारलाई अस्थायी बसोबासका लागि प्रति प्रतिवार ८ बण्डल जस्तापाता तुरुन्त व्यवस्था गर्नुपर्ने, नदी किनारामा तटबन्ध निर्माण गर्नुपर्ने, बिग्रेका मोटरबाटो मर्मत गरी सञ्चालन गर्न योग्य बनाउनुपर्ने, अस्थाई झोलुङ्गेपुल बनाउनुपर्ने लगायतका माग गरिएको छ ।

नेकपा (एमाले) वाग्मती प्रदेश संगठन कमिटीका अध्यक्ष आनन्द प्रसाद पोखरेलले बाढी पीडितको पुनःस्थापनाका लागि र खोलामा तटबन्ध गर्नेदेखि क्षतिग्रस्त घरहरुलाई मर्मत गर्नका लागि प्रधानमन्त्रीबाट सकारात्मक आश्वास आएको र आफुहरु कार्यान्वयनको आशामा रहने बताए । असार १ गते सिन्धुपाल्चोकको मेलम्ची, याङ्ग्री र लार्के खोलामा आएको बाढीमा परि सो क्षेत्रका १६ जनाको निधन भएको छ भने करिब ४ सय परिवार विस्थापित भएका छन् । बाढीबाट विकासका सम्पूर्ण पूर्वाधारहरुमा समेत क्षति भएको छ ।

प्रतिक्रिया