सोमबार, वैशाख १७, २०८१

बाँकेमा ‘लम्पी स्किन’ रोग नियन्त्रण गर्न चौपायालाई खोप दिन थालियो

नेपालखोज २०८० साउन ६ गते ७:५८

चौपायामा देखिएको ‘लम्पी स्किन’ रोगको नियन्त्रणका लागि बाँकेमा खोप दिन बल्ल थालिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख कमला अधिकारीले छ हजार दुई सय डोज ९मात्रा० खोप बाँकेमा आएको र यसबाट दुई हजार पाँच सय खोप तीनवटा पालिकामा वितरण गरिएको जानकारी दिइन् । पहिलो चरणमा व्यावसायिक पशुपालन गरेका कृषकको फार्ममै पुगेर लम्पी स्किन रोगविरुद्धको खोप दिन सुरुआत गरेको उनले बताइन् ।

बाँकेका आठवटा पालिकामध्ये कोहलपुर नगरपालिका, खजुरा र जानकी गाउँपालिकामा हालसम्म छ सयका दरले खोप वितरण गरी सकिएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिइन् । बिहीबारदेखि खोप दिन प्राविधिक खटाइएको उनले बताइन् । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ, पशु चिकित्सक रुपेन्द्रकुमार ओलीले पशुमा देखिएको रोगको पहिचानका लागि प्रयोगशाला परीक्षण र लक्षणअनुसारको उपचार भइरहेको जानकारी दिए ।

घाउ, खटिरा आएकालाई ‘ड्रेसिङ’ गर्ने काम भइरहेको जानकारी दिँदै पशु चिकित्सक डा. ओलीले ‘भाइरस’बाट सर्ने रोग भएकाले यसको दिगो उपचार नभएको जानकारी दिए । साथै उनले तालिम प्राप्त ५० जना ‘भ्याक्सिनीयटर’ले पालिकामा पुगेर शुक्रबारदेखि खोप लगाउन सुरु गरेका बताए । नेपाल भेटेरिनरी एसोसिएसनका सचिव डा शङ्कर न्यौपानेले सङ्क्रमणबाट पशुको मृत्युपछि किसानले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको जानकारी दिए । उनका अनुसार रोगी पशुलाई लामखुट्टे, झिँगा वा किर्नाले टोकेपछि अन्यलाई पनि यो रोगको सङ्क्रमण फैलन्छ । नेपालगञ्ज उपमहानगरपालिकासहित सबै स्थानीय तहमा उक्त ‘भाइरस’को सङ्क्रमण देखिएको छ । उक्त रोगबाट सबैभन्दा बढी बाँकेको खजुरा, राप्तीसोनारी र वैजनाथ गाउँपालिका प्रभावित भएको भेटेरिनरी अस्पतालले जनाएको छ ।

बाँकेमा करिब एक लाखको हाराहारीमा भैँसी र ६० हजारको हाराहारीमा गाई छन् । तीमध्ये सात हजार पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण देखिएको छ । लम्पी स्किन रोगको सङ्क्रमणबाट बाँकेमा अहिलेसम्म २५ पशुको मृत्यु भएको छ । सङ्क्रमण जिल्लाभर फैलिएपछि मात्र किसानले खोपको सुविधा पाएका हुन् । rss

प्रतिक्रिया