थपियो नयाँ पुनर्बिमा कम्पनी, बिमा समितिले दियो हिमालयन रीलाई कारोबार सञ्चालनको अनुमति

काठमाडौं । नेपालमा थप एउटा बिमा कम्पनी थप भएको छ । यसअघि नेपालमा १९ वटा जीवन बिमा, २० वटा निर्जिवन बिमा र एउटा पुनर्बिमा कम्पनीसहित ४० वटा बिमा कम्पनीहरुले कारोबार सञ्चालन गर्दे आएका थिए ।
अब नेपालमा बिमा कम्पनीहरुको कुल संख्या ४१ वटा पुगेको छ । नियमनकारी निकाय बिमा समितीले पुनर्बिमा कारोबार सञ्चालन गर्नको लागि हिमालयन रीलाई सैद्धान्तिक अनुमती दिएसंगै पुनर्बिमा कम्पनीको संख्या पनि दुई पुगेको छ ।
व्यवसाय सञ्चालन गर्नको लागि सैद्धान्तिक अनुमती पाएको हिमालयन रीले चालु आर्थिक बर्षभित्र नै अर्थात यही असार मसान्तसम्ममा कारोबार सुरु गर्ने तयारी गरेको छ । १० अर्ब रुपैयाँ चुक्ता पुंजीमा सञ्चालनमा आउन लागेको यो कम्पनीमा संस्थापक सेयरधनी समूहको ७० प्रतिशत अर्थात सात अर्ब र सर्वसाधारण सेयरधनी समूहको ३० प्रतिशत अर्थात तीन अर्ब रुपैयाँ बराबरको सेयर स्वामित्व रहने छ । हाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका शेखर गोल्छा हिमालयन रिका सञ्चालक समितिका अध्यक्ष रहेका छन् ।
कम्पनीमा साहिल अग्रवाल, अमित मोर, रोहित गुप्तालगायतका उद्योगी व्यवसायीहरुको प्रमुख सेयर लगानी रहेको छ । यसैगरी कम्पनीमा सरकारी स्वामित्वको नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको एक अर्ब अर्थात ५०/५० करोड रुपैयाँ सेयर लगानी रहेको छ ।

प्रतिक्रिया