शुक्रबार, जेठ ४, २०८१

कवि एवं गीतकार दिनेश अधिकारीकाे एल्बमबाट-८

दिनेश अधिकारी २०७८ असार १२ गते ६:४४

त्यसबेलासम्म मैले दार्जिलिङको माटो टेकेकै थिइनँ। त्यो पटक पनि दार्जिलिङ जाने त्यस्तो कुनै सोच थिएन। कार्यालयको कामको सिलसिलामा २०५४ साल च‌ैतमा झापा जिल्लाको काकरभिट्टा पुगेको बेला म दार्जिलिङ गएकै छैन भन्ने थाहा पाएपछि साथीहरुले त्यहाँ जान प्रोत्साहित गरे। पर्सीपल्टै शनिबार थियो। त्यसको पनि सदुपयोग हुने देखेपछि भोलिपल्टै म र मसँगै काम गर्ने साथी धनबहादुर राना त्यहाँका साथीहरुले मोलतोलगरी मिलाइदिनु भएको भारतीय नम्बर प्लेटको भाडाको एउटा कार लिएर सिलिगुडी हुँदै त्यही दिन बेलैमा दार्जिलिङ पुग्यौं। चालकको सहयोगमा होटल खोज्यौं र भोलिपल्ट घुमघामको कार्यक्रम पनि मोटामोटीरुपमा मिलायौं ।

साँझको समय फुर्सद नै थियो। त्यसैले कोही कोही साहित्यकारसँग भेट्न पो सकिन्छ कि भन्ने मनमा आयो । मैले आफु बस्ने होटलमै त्यसको सम्भावना बारे कुरो चलाउँदा त्यहीँ कसैले नेपाली साहित्य सम्मेलन (स्थान पनि यही नामले र भवन पनि यही नामले चिनिदोरहेछ।) तिर भेट हुन सक्ने जानकारी दिएपछि हामी दुबैजना त्यहाँ गयौं । पुस्तकालयमा पस्यौं । कसैलाई चिनेको पनि थिएन । फलानोलाई भेट्ने भन्ने सोच पनि थिएन। दार्जिलिङ आउने पूर्व सोच भएको भए त्यतिखेर काठमाडौंमै रहनु भएका संगीतकार मित्र मणिकमल क्षेत्रीजीसँग पक्कै पनि केही जानकारी लिएर आउँथे होला । त्यो पनि भएन । यसै परिचय गरुँ न त भन्ने सोचेर पुस्तकालयमा भेटिनु भएका तीनजना मानिससँग मैले चिनाजानी गरें । सयोगले उहाँहरु साहित्यकार नै हुनुहुँदोरहेछ । उहाँहरुले मेरो पनि नाम सुन्नु भएको रहेछ ! मैले आफ्नो साथमा लगेको, त्यही वर्ष प्रकाशित मेरो गीतसङ्ग्रह “आफ्नै मन: आफ्नै आँगन” पुस्तकालयका लागि उपहार छोडें। साँझ, छिप्पिन पनि लाग्दै थियो । छोटो कुराकानीपछि हामी सबै छुट्टियौं।

२० मार्च १९९८ (७ चैत २०५४) का दिन खिचिएका यी तस्वीरहरु त्यही भेटघाटका सम्झना त हुन् नै । थपमा, दार्जिलिङ निवासी साहित्यकारहरुसँग उहाँहरुकै थाकथलोमा भएको मेरो पहिलो भेटको निशानी पनि हो । पहिलो तस्वीर नेपाली साहित्य सम्मेलनको पुस्तकालयमा खिचिएको हो भने दोस्रो तस्वीर बिदा हुने क्रममा सोही भवनको प्राङ्गणमा खिचिएको हो । दुबै तस्वीरमा कथाकार, उपन्यासकार तथा अनुवादक कर्ण थामी (गलबन्दीमा), कवी एवम् कथाकार गोपिचन्द प्रधान (सेतो टोपीमा), कवि तथा समालोचक हरेन आले ( कालो टोपीमा) र म दिनेश अधिकारी ( खैरो ज्याकेटमा) देखिएका छौं।

प्रतिक्रिया