काठमाडौंलगायत धेरै ठाउँमा वर्षा : पाँच प्रदेशमा झरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । यतिबेला काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा वर्षा भइरहेको छ । मनसुन पुनः सक्रिय भएसँगै देशभर वर्षा जारी छ । मनसुनी वायुकै प्रभावले आज दिउँसो देशभरका पाँच प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आइतबार र सोमबार पनि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।
अबको दुई दिनसम्म प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनर चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
प्रतिक्रिया