मंगलबार, वैशाख ३०, २०८२

कोरोना कहर : विश्वभर मृत्यु हुनेको ४० लाख नाघ्यो, १६६ दिनमा २० लाखले ज्यान गुमाए

नेपालखोज २०७८ असार १२ गते ७:५६

काठमाडौं । कोरोना भाइरसका कारण हालसम्म विश्वभर ४० लाख भन्दा बढि मानिसको मृत्यु भइसकेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार करिब १८ करोड मानिस यसबाट संक्रमित भइसकेका छन् ।

अहिले पनि यो भाइरस तीव्र गतिमा फैलने क्रम जारी छ । त्यसको उदाहरण दैनिक ४ लाख नयाँ संक्रमित थपिनु तथा दैनिक १० हजार मानिसले संक्रमणका कारण ज्यान गुमाउनु हो । यद्यपि अहिले केही महिना पहिलेसम्म कोरोना हटस्पट मानिएका तथा सर्वाधिक मानिसले ज्यान गुमाएका अमेरिका तथा ब्राजिलमा नयाँ संक्रमित देखापर्ने तथा मृत्यु हुने क्रम घटेको छ ।

रोयटर्सका अनुसार कोरोनाबाट मृत्यु हुनेहरुको संख्या २० लाख पुग्न सुरुमा एक वर्ष लाग्यो भने पछिल्लो १ सय ६६ दिनमै थप २० लाख मानिसको मृत्यु भयो । त्यसमा पनि आधाजसो मृत्यु पाँच वटा देशमा भएको छ । ती देश हुन- संयुक्त राज्य अमेरिका, ब्राजिल, भारत, रूस तथा मेक्सिको । मृत्युदरका हिसाबले भने पेरू, हंगरी, बोस्निया, चेक रिपब्लिक तथा जिब्राल्टर सबैभन्दा माथि छन्।

छिमेकी मुलुक भारत तथा दक्षिण अमेरिकी देश ब्राजिल यस्ता देश हुन जहाँ प्रत्येकक दिन मृत्युको नयाँ रेकर्ड कायम भइरहेको छ । समाचारमा जनाइएअनुसार संसारभर हुने प्रत्येक तीन मृत्युमध्ये एक मृत्यु भारतमा भइरहेको छ । जसका कारण कैयन् देश दाह-संस्कार र शव व्यवस्थापनको समस्याबाट गुज्रिरहेका खबरहरु आइरहेका छन् ।

यद्यपि स्वास्थ्य विशेषज्ञहरुले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले दिएको कोरोना संक्रमित तथा मृतकहरुको तथ्यांकमा प्रश्न उठाउँदै कोरोनाबाट भएको मृत्युको वास्तविक संख्या अझ धेरै भएको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया