५० वर्षअघिको राउटे जीवन ! (तस्बिर कथा)

सुनील उलक २०७८ असार १२ गते १५:२९

राउटेको अचेल सामाजिक सन्जालमा निकै चर्चा परिचर्चाले धेरैले राउटेहरुको रहनसहन, वेशभूषा तथा बोलीचालीबारे जानकारी पाउन थालेका छन् । पहिले एनजीओ तथा आईएनजीओका नाममा डलर कमाउनेहरु राउटे बस्तीमा पुग्थे । अहिले यु-ट्युबरहरु डलर कमाउन राउटे बस्ती पुग्ने गरेका छन् । तर राउटेको जीवनशैलीमा भने कुनै परिवर्तन आएको देखिँदैन । कतिपय सुधार र सामाजिक कुराहरु उनीहरु स्वीकार्दैनन् । कतिपय सरकार र यहाँको समाजले स्वीकार्न दिँदैनन् ।

वास्तवमा भनौं भने राउटेहरु घुमन्ते आदिवासी जनजातिको अन्तिम र एक मात्र बचेको प्रजाति हो । तसर्थ यी राउटेहरुका लागि स्थायी घर बनाइदिने र अन्य व्यवस्था मिलाउने भनेको एक मात्र घुमन्ते प्रजातिलाई हाम्रो समाजमा समाहित गरेर विलुप्त गर्नु हो । यिनीहरुलाई यसरी नै बाँच्न दिनुपर्छ । सरकार वा यहाँको समाजले यिनीहरुको जीवनरक्षा गर्न यिनीहरुलाई यिनीहरुले उत्पादन गर्ने सामग्री उत्पादनमा सहयोग गर्ने तथा सो उत्पादित सामग्री खरिद गरिदिने हो ।

यी सामग्री बजारमा बिक्छन् वा बिक्दैनन् भन्नुभन्दा पनि यिनीहरुबाट उचित मूल्यमा खरिद गरिदिएमा अन्य आर्थिक सहयोगको अपेक्षा राख्ने गर्दैनन् । बजारमा आँउदा यिनीहरुले तयार बनाएर बिक्रीका लागि ल्याइएका सामग्री किन्न नखोज्ने वा सस्तोमा किन्न खोज्ने गर्दा यिनीहरुमा आर्थिक अभावको अवस्था सिर्जना भयो । जसले गर्दा यिनीहरु आफू बसेको नजिकको बस्तीमा माग्नका लागि पनि पस्न थाले । नेपाल सरकारले मासिक लोपोन्मुख भत्ताबापत् ३००० रुपैयाँ र कर्णाली प्रदेश सरकारबाट २००० रुपैयाँ गरी मासिक ५००० रुपैयाँ पाउने व्यवस्था गरेको छ ।

यस किसिमको व्यवस्थाले सरकारले राउटे प्रजातिको सुरक्षण गरेको भन्ने गरेको छ । वास्तवमा यसरी रकम उपलब्ध गराउनु गलत हो । यसको सत्ता उनीहरुलाई उनीहरुले तयार गर्ने काठको सन्दुस, कोसी, ओखल तथा सिलौटाहरु उत्पादन गर्न सहयोग गर्ने तथा ती उत्पादित वस्तु सरकारले खरिद गरिदिने व्यवस्था मिलाएको भए उनीहरु आत्मनिर्भर हुन्थे । तर अचेल उनीहरुले यी सामग्री उत्पादन गर्न विस्तारै छाडिसके । काठ पाइँदैन काट्न दिँदैन भनेर पन्छिन थालेका छन् । साथमा सरकारले विभिन्न सहयोगको माग गर्न थालेका छन् । सरकारले लोपोन्मुख भत्ता उपलब्ध गराउँदा उल्टो अझ बढी रकमको अपेक्षा गर्न थालेका छन् ।

May be an image of 1 person and outdoors
काठको सन्दुस बनाउँदै राउटे ।

नेपालमा राउटेहरुको बारेमा विस्तृत अध्ययन २०२५ सालमा भएको थियो । अमेरिकी मानवशास्त्री एवं पुरातत्त्वविद् योहन रेयनहर्डले २०२५ साल पुसदेखि फागुनसम्म राउटे बस्तीमै बसेर अध्ययन गरेका थिए । हुन त रेयनहर्ड २०२४ को अन्त्यमै नेपाल आएर नेपालको अर्को आदिवासी कुसुन्डासम्बन्धी अध्ययन गर्दै थिए ।

May be an image of 2 people
राउटेको खोजीका लागि जहाजमा सुर्खेत जाँदै रेयनहर्ड ।

कुसुन्डाका राजामामासँग बसेका थिए । कुसुन्डाको भाषा र लिपिसम्बन्धी पनि अध्ययन गरेका थिए । कुसुन्डासम्बन्धी अध्ययन गर्ने क्रममा नै राउटेहरुको बारेमा पनि सुनेपछि उनले राउटेको अध्ययन पनि थालेका थिए । यसअगाडि राउटेको विषयमा योगी नरहरिनाथले २०१३ सालमा प्रकाशित आफ्नो पुस्तक ‘इतिहास प्रकाश’मा राउटे बारेमा लेखेका छन् । विदेशीको हकमा भने रेयनहर्ड नै पहिलो व्यक्ति थिए जो राउटे बस्तीमा पुगेर राउटेहरुसँग बसेर उनीहरुको विषयमा अध्ययन गरेका थिए ।

रेयनहर्डसँग पछिल्लो चार वर्षयता दुईपटक मेरो भेट भएको थियो । भेटमा फोटोहरु मलाई हस्तान्तरण पनि गर्नुभएको थियो । भेटमा उहाँसँग कुसुन्डा तथा राउटेको विषयमा कुराकानी नभए पनि उहाँले गर्नुभएको अध्ययनहरु समेटेको लेख दिनुभएको थियो ।

नेपालमा कुसुन्डा प्रजाति र उनीहरुको विलुप्त हुँदै गरेको भाषासम्बन्धी अध्ययन गर्ने मनसायले नेपालमा आएका रेयनहर्डले कुसुन्डाहरुसँगको कुराकानीकै समय राउटेबारे सुनेपछि विशेष चासो लिन थालेका थिए । राउटेहरुको विषयमा सुनेपछि उनीहरुको बस्ती खोज्न २०२५ पुस ५ गते रेयनहर्ड काठमाडौंबाट सुर्खेत लागेका थिए ।

May be an image of 1 person, standing and outdoors
भरियाहरु तथा सहयोगी भरतका साथ रेयनहर्ड ।

त्यसपछि पनि राउटेहरुलाई खोज्न करिब तीन साता लागेको थियो । अन्तत: २०२५ पुस २७ गते उनले बस्ती सर्दै गरेका लामबद्ध राउटेहरुलाई टाढाबाट देखे । जुन तस्बिर पनि यहाँ राखिएको छ । त्यसपछि उनीहरुको नजिक जाने खोजे । राउटेहरु अन्य मानिसहरुको नजिक जान खोज्दैनन् तथा नजिक आएको रुचाउँदैनन् । त्यसमा झन् एक विदेशीका लागि अझ गाह्रो थियो उनीहरुको बारेमा बुझ्न । उनीहरुको मुख्य बसोबास क्षेत्र कर्णाली भेरी र बबई नदी वरपर सुर्खेत, दैलेख र सल्यान जिल्ला नै थियो । २०२२ को पुसदेखि २०२९ को पुससम्मको अध्ययनमा उनीहरुको बसाइस्थल यही सेरोफेरो नै थियो । जुन ठीक तलको तस्बिरमा पनि देख्न सकिन्छ ।

May be an image of animal and nature
पहिलोपटक देखिएको घुमन्ते राउटे समूह ।

यी प्रजाति जंगलको राजाका रुपमा धेरैअगाडि देखि वनरावत, जंगली तथा वनमानुस भन्ने गरिन्थ्यो । राउटेहरुको बारेमा जेना फोर्टियरले ‘Kings of the Forest’ लेखेका छन् भने ओम गुरुङले Route of Nepal लेखेका छन् । त्यस्तै गणेश ओलीले The Rautes : The Endangered Jungle Tribe of Nepal लेखेका छन् । त्यस्तै रेयनहर्डको Raute (Nepal) : Camp Scenes and Bartering को साथै अन्य पुस्तकहरु पनि भेटिन्छ । साथै बीबीसी टेलिभिजनले Living with Nomads शीर्षकको शृंखलामा केथ हम्बलले नेपालका राउटेहरुको साथ बिताएको डकुमेन्ट्री नै बनाएको थियो ।

समयअनुसार राउटेहरुको जीवनशैलीमा पनि फरक आएको छ । पहिले-पहिले छाप्रो बनाउँदा रुखका हाँगा पातपतिंगरले छाउँथे । अहिले भने पालमा निर्भर हुन थालेका छन् । बलियो पालका लागि सरकारलाई गुहार्छन् । बस्तीनजिकै बस्न थालेपछि बियरको स्वादमा रम्न थालेका छन् । खाजाको रुपमा चाउचाउको प्रयोग बढ्दै गएको छ । केहीले मोबाइल पनि चलाउन थालेका छन् ।

May be an image of 1 person and outdoors
राउटे समूहका मुखिया मइनबहादुर कल्याल (शाही) रेडियो सुन्दै ।

राउटेहरुको इतिहास
राउटेहरुसँग आफ्नो कुनै इतिहास छैन । घुमन्ते र देवताको सन्तान भन्ने गरिए पनि राउटेहरुको उद्‌गम स्थल फुकोट भन्ने गरिन्छ । उनीहरुकै कथनअनुसार फुकोटमा बस्ने विष्णु ठकुरीका सात भाइ छोरामध्ये माहिलो छोराले पारिवारिक सजाय बापत गाउँबाट निष्कासित भएर जंगल बस्नुपरेको भन्ने कथन छ ।

कति सय वर्षअगाडिको कुरा हो भन्ने कुनै यकिन तथ्य छैन । अहिलेका राउटे तिनै माहिलोका सन्तान हुन् भनिन्छ । राउटेहरुको जनसंख्या ७०० जति भए पनि अहिले वास्तविक राउटेहरुको संख्या मुस्किलले १५० जति मात्र छ । बाँकी अन्य राउटे समाजमा घुलमिल भइसकेका छन् । राउटेहरुमा आफ्नो संख्या गन्नु हुँदैन भनेर यकिन संख्या भन्ने गर्दैनन् ।

मुख्य गरेर राउटेहरु तीन गोत्रका छन्- कल्याल गोत्र, रास्कोटी गोत्र र सूर्यवंशी छत्याल गोत्र । यी तीन गोत्रबीच विवाह चलाउँछन् । आफ्नै गोत्रमा विवाह गर्न नहुने हुँदा कल्यालहरु रास्कोटीसँग र समालहरु कल्यालसँग बिहे गर्छन् । कल्यालहरुको संख्या सबैभन्दा अधिक र रास्कोटी तथा समालहरुको संख्या न्यून हुँदा विवाहको उमेर पुगे पनि बिहे हुन नपाएका कल्याल युवायुवतीहरुको संख्या बढ्दै गएको छ ।

May be an image of one or more people, people standing, outdoors and tree
रमाइलोका लागि नाचगान गर्दै राउटे समूह ।

राउटेहरुमा समूहगत महामुखिया नै गोत्रअनुरुप तीन मुखिया हुने गर्दछन् । निकै लामो समयदेखि राउटेहरुको महामुखिया मइनबहादुर कल्याल (शाही) छन् भने अन्यमा कल्याल मुखिया वीरबहादुर शाही, रास्कोटी मुखिया सूर्यनारायण शाही तथा समाल मुखिया डिलबहादुर शाही हुन् ।

२०७५ असार ३० गतेदेखि दैलेखको गुराँस गाउँपालिकाले परिचयपत्र प्रदान गरेको थियो । जसअनुसार उनीहरुलाई नागरिकता पनि दिने प्रयासहरु भइरहेको छ । केही समयदेखि सुर्खेतको दमारमा बस्दै आएका राउटेहरु हालै सल्यान जिल्लाको काल्चे डाँडामा बसाइ सरेका छन् । अहिले यिनीहरु ४६ घरधुरीका १४३ जना भएको जनाइएको छ ।

राउटेहरु मुख्यत: कुनै पनि ठाउँमा बस्दै गर्दा कुनै सदस्यको मृत्यु भयो भने बसाइ सर्ने गर्छन् । शवलाई आफू बस्दै आएको ठाउँमै गाड्छन् र सो ठाउँ छाडेर नयाँ ठाउँको खोजीमा निस्कन्छन् । यसपटक सुर्खेतको बसाइमा भने विभिन्न स्थानमा राउटे बस्तीमा आएर युट्युब तथा टिकटक बनाउनेले दु:ख दिन थालेपछि पनि सर्न बाध्य भएका हुन् । तर मुखियाले भने सुर्खेतमा बढी गर्मी भएको हुँदा बसाइ सर्नुपरेको जानकारी दिएका छन् ।

हेरौं तस्बिरमा राउटेहरु आजभन्दा ५० वर्षअगाडिको अवस्था । सम्पूर्ण तस्बिर भने योहन रेयनहर्डले नै खिचेका हुन् । हामीले यो सामग्री सुनील उलकको फेसबुकबाट साभार गरेका हौं ।

May be an image of 8 people, people standing, outdoors and tree
राउटे समूहबीच रेयनहर्ड ।
May be an image of 1 person, child, standing and outdoors
राउटे समूहका महिला तथा बच्चाहरु ।
May be an image of 1 person and outdoors
भिडियो क्यामेरा हातमा लिएर हेर्दै गरेका राउटे ।
May be an image of animal, nature and text that says 'Collection of Sunil Ulak'
राउटेहरुको मुख्य आहार लङ्गुर बाँदर ।
May be an image of outdoors
बस्ती सर्दै गरेका राउटेहरु ।
May be an image of map and text
२०२२ पुसदेखि २०२९ पुससम्ममा घुमन्ते राउटेहरुका यात्रा र बस्ती ।

प्रतिक्रिया