शनिबार, वैशाख २२, २०८१

पर्खाल

नारायण तिवारी २०७८ फागुन २१ गते ९:१४

चाबी राख्न गएको थिएँ । देखिहालेँ- बुबा उत्तानो पल्टिनुभएको थियो । र, आमा बुबाको खुट्टा थिचिरहनुभएको थियो ।

तुरुन्त बाहिर निस्किएँ । कस्तो-कस्तो लागिरह्यो । यो बुबाले आजको जमानामा के आमालाई खुट्टा थिचाइराख्या होला- मनमा हलचल पैदा भइरहेको थियो ।

हजुरआमाले हजुरबाको खुट्टा थिचेको, बिहान-बेलुकै ढोगेको, खुट्टाको पानी खाको, मैले केटाकेटीदेखि देख्दै आइरहेको थिएँ । हजुरबा पुरानो जमानाको मान्छे, अलिक पढाइलेखाइ पनि नभएको- उहाँले त्यस्तो गरे पनि बुबा त पढेलेखेको, सरकारी जागिर खाएको मान्छे, कसरी यस्तो ? कुरा धेरै खेलिरहेका थिए- मनमा ।

तर, एकदिन गजब भयो । मेरो बुबाप्रतिको जन्मिँदै गरेको दुर्भावनाको पर्खाल गर्ल्याम्म-गुर्लुम् ढल्यो ।

बुबा त्यस्तो हुनुहुँदो रहेनछ । किनभने त्यसैगरी एकदिन म कोठामा चाबी राख्न पुगेँ ।

अचानक मेरा आँखा बुबाका आँखासित जुधे । बुबा मुस्कुराउनु भयो । म देखिरहेको थिएँ- यसपटक आमा सुत्नुभएको थियो र बुबा आमाको खुट्टा थिचिरहनु भएको थियो ।

प्रतिक्रिया