आइतबार, वैशाख २३, २०८१

लालबुझक्कड !

सुजम्बर सम्भव २०७९ असार २५ गते ७:४३

खुसी हुँदा तिमीले नाच्ने गीत
एउटा दु:खी कविको आँसु हो ।
तिमीलाई मन पर्ने कविता पनि
एउटा दु:खी कविको आँसु नै हो ।
तिमी मात्रै यस्तो एक मनुवा हौ,
जो दु:खीहरुको भावनामा मुस्कुराउन सक्छ ।

तिमीले सम्पन्नता माग्ने भगवानको मूर्ति
दीनताको गुँडजस्तै शिल्पकारको प्यास हो
लालित्यपूर्ण लाग्ने तिम्रो जीवन पनि
हीनताले कक्रिएको आमाको त्याग हो ।
तिमी मात्रै यस्तो एक मनुवा हौ,
जो दीनता र हीनताको मरुभूमिमा मुस्कुराउन सक्छ ।

तिम्रो घरको फूलबारी
कसैको छोरीको वेदनाको फसल हो
तिम्रो ओठको मुस्कान पनि
सहस्र संगीहरुको सम्भार हो
तिमी मात्रै यस्तो एक मनुवा हौ,
जो ममताको महललाई बाध्यताको नाम दिन सक्छ ।

म त तिम्रो शुभचिन्तक हुँ
तिमीलाई बिझाउँदा, म ऐंठन पर्छु,
तिमी निदाउँदा, म सपना देख्छु ।

प्रतिक्रिया