बुधबार, जेठ १, २०८२

राष्ट्रपतिले पदको गरिमालाई नै समाप्त पारिन् : सभापति देउवा

नेपालखोज २०७८ असार १४ गते २०:२५

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति पदको गरिमालाई नै समाप्त पारेको आरोप लगाएका छन् । विपक्षी गठबन्धनले सोमबार संघीय संसद भवनको लोत्सेहलमा बुद्धिजीवीसंग गरेको अन्र्तरक्रियामा बोल्दै उनले संविधानले दिएको राष्ट्रपतिको पदिय जिम्मेबारी र कर्तव्य पुरा नगरेर राष्ट्रपति भण्डारीले पदिय गरिमालाई नै समाप्त पारेको बताए ।

संसदको कुनै पनि सांसदले बहुमत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा प्रधानमन्त्री हुन सक्ने व्यवस्था संविधानले गरेको उल्लेख गर्दे उनले बहुमत पुराएर प्रस्ताव लैजादा पनि राष्ट्रपतिले संविधानको व्यवस्था अनुसार प्रधानमन्त्रीमा नियुक्त नगरेर ओलीको कार्यकर्ता बनेको दोहोर्याए ।

संविधानको अन्तिम व्याख्या गर्ने संस्था अदालत भएको र न्यायलयको निश्पक्षता तथा स्वतन्त्रतामा विश्वास गर्ने उल्लेख गर्दै उनले संविधानमा भएको व्यवस्था अनुसार नै अदालतको फैसला आउनेमा आफुहरु विश्वस्त रहेको बताए । उनले अदालतले स्वतन्त्र न्यायलयको छबि कायम नै राख्नेमा आफु विश्वस्त रहेको पनि बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ ?’ भनी प्रश्न गरे ।

प्रधानमन्त्री ओलीले सोमबार राजधानीमा आयोजित सार्वजनिक कार्यक्रममा सभापति देउवालाई लोकतान्त्रिक मुल्य मान्यता छोडेर प्रचण्डपथमा हिडेको भन्दै विपक्षी गठबन्धनमा सहभागी दलका शिर्ष नेतामाथि तिखो टिप्पणी गरेका थिए ।

प्रतिक्रिया