बुधबार, जेठ १, २०८२

२५ सिटमाथिका सार्वजनिक सवारीसाधनमा आजदेखि जोरबिजोर, के चल्छन् के चल्दैनन् ?

नेपालखोज २०७८ असार १५ गते ६:३७

काठमाडौं । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो पार्दै आज (मंगलबार) देखि काठमाडौं उपत्यकाभित्र जोर-बिजोर प्रणालीमा सार्वजनिक सवारीसाधन सञ्चालन भएका छन् । उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीहरुको हिजो (सोमबार) को बैठकले यो निर्णय गरेको हो ।

तर सबै सार्वजनिक सवारीसाधन भन्ने चल्ने छैनन् । २५ सिट क्षमताभन्दा माथिका सार्वजनिक यात्रुवाहक सवारीसाधन जोर-बिजोर प्रणालीमा चलेका हुन् । स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै र भौतिक दूरी कायम गरी सवारीसाधन सञ्चालन गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजै (सोमबार) जारी गरेको विज्ञप्तिमा भनिएको छ । सवारीसाधन सञ्चालन गर्दा चालक, सह-चालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारीसाधनको ढोकामा स्यनिटाइजरको व्यवस्था हुनुपर्ने मापदण्ड तय गरिएको छ ।

त्यस्तै सह-चालकले पञ्जा लगाउनुपर्ने र अनिवार्य रुपमा सवारीसाधन स्यानिटाइज (निसङ्क्रमित) गर्नुपर्नेछ । सवारीसाधन बिहान ६ देखि साँझ ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।

यसैगरी निजी सवारीसाधन (कार, जिप, भ्यान) का हकमा बढीमा चार र ट्याक्सीका हकमा बढीमा तीनजना मात्रै सवार गर्न पाइनेछ । मोटरसाइकल/स्कुटरसमेत जोर-बिजोर प्रणालीमा चलाउन पाइनेछ । स्वास्थ्यकर्मी, पशुस्वास्थ्यकर्मी, एम्बुलेन्स, खानेपानी, विद्युत् मर्मतसम्भारका सवारीसाधनले स्वास्थ्य मापदण्ड पालना गरी निर्वाध रुपमा सञ्चालन गर्न पाइनेछ ।

सरकारी, सार्वजनिक संस्थान, कूटनीतिक नियोग, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, कृषि मल, बीउबिजन, पशु चिकित्सकलगायत अत्यावश्यक सेवा प्रदायक सवारीसाधन निर्वाध रुपमा सञ्चालन हुन पाउनेछन् । तरकारी, फलफूल, खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ सामग्री, कुखुराको चल्ला र पशुपन्छीजन्य पदार्थ, भेटेरिनरीसम्बन्धी इन्धनलगायत वस्तु बिहान ९ देखि ११ र अपराह्‌न ४ देखि ७ बजेसम्म ढुवानी गर्न पाउने व्यवस्था मिलाइएको छ । यस्तै सार्वजनिक तथा निजी निर्माणको कामका लागि निर्माण सामग्री ढुवानी बेलुका ९ देखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले एकसाता निषेधाज्ञा थप गर्ने निर्णयसँगै सार्वजनिक सवारीसाधनमा स्वास्थ्य प्रोटोकल अपनाएर जोरबिजोर प्रणाली लागु गर्ने निर्णय भएको जानकारी दिए । ‘व्यवस्थित र स्वास्थ्य प्रोटोकल अपनाएर यात्रुवाहक सार्वजनिक सवारी चल्न दिइनेछ । २५ सिट क्षमताभन्दा बढीका यात्रुवाहक सवारीसाधनमा मंगलबार बिहान ६ देखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न दिइनेछ,’ प्रजिअ निरौलाले भने, ‘सबै किसिमका पसलहरु बिहान ११ बजेदेखि ६ बजेसम्म खोल्न दिइनेछ ।’ उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।
-फाइल तस्बिर

प्रतिक्रिया