मौसमविद् भन्छन्- आज र भोलि धेरै खतरा, बाढी-पहिरो आउन सक्छ सतर्क रहनू

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव सक्रिय छ । जसका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षा तथा थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
आज बिहान ४ः३० बजे सिन्धुली जिल्लास्थित मरिनखोला कुसुन्तार वर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टा भारी वर्षामापन भएको, मरिन कुसुन्तार, वाग्मती राईगाउँ, पँधेरा दोभानलगायतमा वर्षाको बाढी मापन भएको छ । केन्द्रमा जलसतह बढ्दो क्रममा रहेकाले उक्त जलाधारका नदी तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा आज दिउँसो सम्मै उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।
‘आज र भोलि निकै खतरा छ,’ मौसमविद् डा. धर्मराज उप्रेतीले नेपालखोजसँग भने, ‘यस्तोमा सबैले सतर्कता अपनाउन जरुरी छ ।’ यस्तै उनले मेलम्ची जलाधार क्षेत्रमा पनि धेरै वर्षा भएकाले अर्को ठूलो बाढी वा पहिरो आउन सक्ने खतरा रहेको पनि जानकारी दिए ।
प्रतिक्रिया