सोमबार, वैशाख २९, २०८२

राष्ट्रियसभाको आठौँ अधिवेशन आजबाट : बैठक अपराह्‌न ४ बजे

नवनिर्वाचित सांसद खिमलाल देवकोटा र दृगनारायण पाण्डे नयाँ प्रवेशी

नेपालखोज २०७८ असार १७ गते ८:४४

काठमाडौं । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको आठौँ अधिवेशन आज (बिहीबार) देखि सुरु हुँदै छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा आज अपराह्न ४ बजे अधिवेशन आह्वान गरेकी हुन् ।

त्यसअघि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षता बस्ने कार्यव्यवस्था परामर्श समितिले यस बर्खे अधिवेशनको पहिलो दिन बैठकमा पेस हुने कार्यसूची तय गर्नेछ ।

यद्यपि, बैठकको प्रारम्भमा अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाइनेछ । अधिवेशन प्रारम्भ भएको अवसरमा उक्त सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले सफलताका लागि शुभकामना मन्तव्य राख्ने परम्परा छ । बैठकमा यसबीचमा जारी अध्यादेशसमेत पेस गरिनेछ ।

संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार कोभिड–१९ को सङ्क्रमणकैबीच आह्वान भएको अधिवेशन सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ ।

पछिल्लोपटक गत जेठ ६ र १७ गते निर्वाचित खिमलाल देवकोटा (वाग्मती, स्वतन्त्र) र दृगनारायण पाण्डे (लुम्बिनी, कांग्रेस) अधिवेशनमा नयाँ प्रवेशी हुनेछन् ।

५९ सदस्यीय राष्ट्रियसभाको सातौँ अधिवेशन गत पुस १७ गते प्रारम्भ भई २६ गते अन्त्य भएको थियो । एउटा अधिवेशनको समाप्ति र अर्काे अधिवेशन प्रारम्भबीचको अवधि ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया