‘समयमै मल पुर्‍याए यस वर्ष धान उत्पादन राम्रो’

मीना साउँद २०७८ असार १७ गते १२:२५

रोपाइँमा पनि देखियो कोभिडको प्रभाव
भौगोलिक क्षेत्रअनुसार कहाँ कति सकियो रोपाइँ ? यस्तो छ वास्तविकता

काठमाडौं । नेपालमा देशभर २७ दशमलव १२ प्रतिशत धान रोपाइँ भएको छ । धान रोपाइँ हुने कुल १३ लाख ७१ हजार ७०६ हेक्टरमध्ये ३ लाख ७१ हजार ९५८ हेक्टरमा रोपाइँ सम्पन्न भएको कृषि विभागका सूचना अधिकारी महादेवप्रसाद पौडेलले जनाकारी दिए । यो तथ्यांक भने असार १५ गतेसम्मको हो ।

गत वर्ष सोही अवधिमा जम्मा ३५ दशमलव ४८ प्रतिशत अर्थात् ४ लाख ८६ हजार ६६३ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको थियो । जुन यस वर्षको भन्दा ८ प्रतिशतले बढी हो । विभागका अनुसार असार १५ गतेसम्म सबैभन्दा बढी कर्णाली प्रदेशमा ६२ दशमलव १४ प्रतिशत र सबैभन्दा कम प्रदेश २ मा १० दशमलव ५५ प्रतिशत रोपाइँ भएको छ ।

त्यस्तै, प्रदेश १ मा १७ दशमलव ९९ प्रतिशत रोपाइँ भएको छ । कुल २ लाख ७५ हजार ९०१ हेक्टरमा धान खेती हुने गरेकामा हालसम्म ४९ हजार ६२३ हेक्टरमा मात्रै रोपाइँ सकिएको छ । जुन गत वर्षको तुलनामा ४ प्रतिशतले कम हो । गत वर्ष असार १५ सम्म प्रदेश १ मा २१ दशमलव ८० प्रतिशत रोपाइँ सकिएको थियो ।

त्यस्तै, वाग्मती प्रदेशमा धान रोपाइँ हुने कुल क्षेत्रफलको २१ दशमलव शून्य ७ प्रतिशत अर्थात् २४ हजार २८८ हेक्टरमा रोपाइँ भएको छ । गत वर्षको सोही अवधिमा ३६ दशमलव २२ प्रतिशत रोपाइँ भएको थियो । त्यस्तै,गण्डकी प्रदेशमा असार १५ गतेसम्म १५ दशमलव ३४ प्रतिशत रोपाइँ भएको छ । गत वर्षको सोही अवधिमा ३५ दशमलव ६६ प्रतिशत भएको थियो । त्यस्तै, लुम्बिनी प्रदेशमा ४५ दशमलव ९४ प्रतिशत रोपाइँ भएको छ गत वर्ष पनि लुम्बिनीमा असार १५ गतेसम्म ४५ दशमलव ९९ प्रतिशत भएको थियो । त्यस्तै सुदूरपश्चिम प्रदेशमा असार १५ गतेसम्म ४८ दशमलव ३१ प्रतिशत रोपाइँ भएकामा गत वर्षको सोही अवधिमा ४९ दशमलव ५४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

भौगोलिक क्षेत्रअनुसार कहाँ कति रोपाइँ ?
नेपालको भौगोलिक अवस्थिति सबै एकै किसिमको छैन । यहाँको भौगोलिक अवस्थितिलाई हिमाल, पहाड, तराई भनि विभाजन गरिएको छ । यहाँका हिमाली क्षेत्रबाहेक उच्च पहाड, मध्य पहाड र तराई क्षेत्रमा धान खेती हुने गरेको छ ।

भौगोलिक क्षेत्रअनुसार असार १५ गतेसम्म उच्च पहाडी क्षेत्रमा ३३ दशमलव ४८ प्रतिशत रोपाइँ भएको छ । नेपालको उच्च पहाडी क्षेत्रमा कुल ४८ हजार १९३ हेक्टरमा धान रोपाइँ हुने गरेकामा असार १५ सम्म १६ हजार १३५ हेक्टरमा रोपाइँ भएको छ । त्यस्तै, मध्य पहाडमा ३० दशमलव ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । मध्य पहाडमा कुल ३ लाख ४६ हजार हेक्टरमा रोपाइँ हुने गरेकामा असार १५ सम्म १ लाख ७ हजार ११५ हेक्टरमा रोपाइँ भएको छ । तराई क्षेत्रमा हालसम्म २५ दशमलव ४५ प्रतिशत रोपाइँ मात्रै सकिएको छ । तराई क्षेत्रमा कुल ९ लाख ७७ हजार ४१४ हेक्टरमा रोपाइँ हुने गरेकामा हालसम्म २ लाख ४८ हजार ७०८ हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ ।

कुन जिल्लामा कति रोपाइँ ?
यस वर्ष धान रोपाइँ हुने जिल्लामा सबैभन्दा कम गोरखामा परेको छ । कृषि विभागका सूचना अधिकारी महादेवप्रसाद पौडेलका असार १५ गतेसम्म गोरखा जिल्लामा धान रोपाइँ हुने कुल क्षेत्रफलको जम्मा ६ प्रतिशत रोपाइँ सकिएको छ । विभागका अनुसार क्रमशः ताप्लेजुङमा २२ प्रतिशत, संखुवासभामा १० प्रतिशत, सोलुखुम्बुमा ४५ दशमलव १६ प्रतिशत, पाँचथरमा २७ प्रतिशत, इलाममा २२ प्रतिशत, भोजपुरमा ५० प्रतिशत, तेह्रथुममा ३५ प्रतिशत, धनकुटामा १५ प्रतिशत, उदयपुरमा १२ प्रतिशत, ओखलढुंगामा ११ दशमलव १३ प्रतिशत, खोटाङमा ३० प्रतिशत, झापामा १७ प्रतिशत, मोरङमा १२ प्रतिशत, सुनसरीमा १३ प्रतिशत, धनुषामा १२ प्रतिशत, महोत्तरीमा १० प्रतिशत, सर्लाहीमा १० प्रतिशत, पर्सामा ११ प्रतिशत, बारामा ११ प्रतिशत, रौतहटमा १० प्रतिशत, सप्त्तरीमा १० प्रतिशत, सिरहामा १० प्रतिशत, दोलखामा १५ प्रतिशत, रसुवामा १३ प्रतिशत, सिन्धुपाल्चोकमा १० प्रतिशत, रामेछापमा १० प्रतिशत, सिन्धुलीमा ४० प्रतिशत, धादिङमा १५ प्रतिशत, नुवाकोटमा १० प्रतिशत, काभ्रेमा १८ प्रतिशत, काठमाडौंमा २० प्रतिशत, भक्तपुरमा २० प्रतिशत, ललितपुरमा १५ प्रतिशत, मकवानपुरमा २५ प्रतिशत, चितवनमा ३० प्रतिशत, पर्वतमा २८ प्रतिशत, कास्कीमा २५ प्रतिशत, म्याग्दीमा ४१ प्रतिशत, स्याङ्जामा ८ प्रतिशत, बागलुङमा १० प्रतिशत, तनहुँमा २८ प्रतिशत, लमजुङमा १० प्रतिशत, नवलपुरमा ७ प्रतिशत, अर्घाखाँचीमा ५७ दशमलव ८ प्रतिशत, गुल्मीमा ७ दशमलव ७ प्रतिशत, रोल्पामा ९० प्रतिशत, रुकुम पूर्वमा ६३ प्रतिशत, पाल्पामा ३० दशमलव ७ प्रतिशत, प्यूठानमा ८० प्रतिशत, नवलपरासीमा ६० प्रतिशत, कपिलवस्तुमा २४ दशमलव ९ प्रतिशत, रुपन्देहीमा ५५ प्रतिशत, बाँकेमा २० प्रतिशत, बर्दियामा ६३ प्रतिशत, दाङमा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

त्यस्तै, कर्णाली प्रदेशका जिल्लाहरू जुम्लामा ९० प्रतिशत, कालीकोटमा ७० प्रतिशत, मुगुमा ७० प्रतिशत, डोल्पामा ८० प्रतिशत, हुम्लामा ८० प्रतिशत, सुर्खेतमा २० प्रतिशत, दैलेखमा ४५ प्रतिशत, रुकुम पश्चिममा ६५ प्रतिशत, जाजरकोटमा ६५ प्रतिशत, सल्यानमा ६० प्रतिशत रोपाइँ सकिएको छ । यस्तै सुदूरपश्चिमको दार्चुलामा ६२ प्रतिशत, बझाङमा ४५ प्रतिशत, बाजुरामा ५५ प्रतिशत, डडेल्धुरामा ६० प्रतिशत, डोटीमा ६० प्रतिशत, बैतडीमा ४५ प्रतिशत, अछाममा ४५ प्रतिशत, कैलालीमा ५५ प्रतिशत र कञ्चनपुरमा ३५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

कस्तो होला यस वर्षको धान उत्पादन ?
कृषि विभागका पूर्वमहानिर्देशक तथा कृषि विज्ञ डा. डिल्लीराम शर्माले समयमै मल पुर्‍याउन सके यस वर्ष धान उत्पादन राम्रो हुने बताएका छन् । यस वर्ष नेपालमा मनसुन समयमै भित्रिएकाले कृषकलाई आवश्यक पर्ने मलहरू समयमै वितरण गर्न सकिए धान उत्पादन पनि राम्रो हुने संकेत देखिएको बताए । यद्यपि, असार १५ गतेसम्मको तथ्यांक हेर्ने हो भने देशभर अत्यन्तै न्यून रोपाइँ भएको विज्ञ शर्माले बताए ।

हालसम्म देशभर धान उत्पादन हुने कुल क्षेत्रफलको जम्मा २७ प्रतिशत रोपाइँ हुनु अत्यन्तै कम भएको उनको भनाइ छ । नेपाल अहिले पनि ३० देखि ३५ प्रतिशत जमिनमा सिँचाइको सुविधा छैन । जसले गर्दा त्यहाँका कृषकले आकाशेपानीको भरमा खेती गर्ने गरेका छन् । तर यस वर्ष मनसुन पनि समयमै भित्रिएकाले अहिलेसम्म २७ प्रतिशतभन्दा बढी नै रोपाइँ सम्पन्न भएको हुनुपर्ने शर्मा बताउँछन् ।

धान रोपाइँमा पनि कोभिडको प्रभाव
कृषि विभागका पूर्वमहानिर्देशक तथा कृषि विज्ञ डा. डिल्लीराम शर्माले धान रोपाइँमा पनि कोरोना भाइरस संक्रमणले प्रभाव पारेको बताएका छन् । यस वर्ष असार १५ गतेसम्म जम्मा २७ प्रतिशत रोपाइँ हुनुको कारण कोरोना संक्रमण पनि हुन सक्ने कृषि विज्ञ शर्मा बताउँछन् । कोरोना संक्रमणका कारण आवश्यक पर्ने बीउ तथा मलहरू समयमै ल्याउन नसकिएका कारण रोपाइँमा ढिलाइ भएको उनले बताए । ‘अहिलेसम्म कम एरियामा धान लगाइएको छ । यसको कारण एउटा कोभिड पनि हो,’ उनले भने, ‘कोभिडको कारणले आवश्यक पर्ने बीउ, मल आदि-इत्यादिहरू बाहिरबाट ल्याउन तथा ओसारपसार गर्न बाधा भयो ।’

धान उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउन के गर्नुपर्ला ?
कृषि विज्ञ शर्माका अनुसार नेपामा धान खेती गर्न आवश्यक पर्ने राम्रो बीउ र मल समयमै उपलब्ध गराउन तथा नेपालीहरूले खाने मसिनो चामल नेपालमै उत्पादन गर्न सकिए नेपाललाई धान उत्पादनमा आत्मनिर्भर बनाउन सकिन्छ । ‘नेपालमा अहिले लगभग साढे १५ लाख हेक्टरमा धान खेती हुन्छ । हाम्रो तीन करोड जनसंख्यालाई यदि राम्रो बीउ र समयमै मल उपलब्ध हुन सक्यो भने साढे १५ लाख जमिनमा उत्पादन हुने धान हामीलाई पर्याप्त हुन्छ,’ उनले भने, ‘तर भनेका बेलामा राम्रो बीउ र मल नपाउनाले हाम्रो उत्पादनमा ह्रास आइरहेको छ र त्यसले गर्दा हामीले बाहिरबाट धान आयात गर्न परिरहेको छ ।’

नेपालीहरूले आफूले मसिनो चामलको भात खाने र उत्पादन गर्दा मोटो धान उत्पादन हुने भएकाले बाहिरबाट मसिनो चामल आयात भइरहेको उनले बताए । उनले भने, ‘नेपालीहरूले खाने मसिनो चामल नेपालमै उत्पादन गर्न सकिए चामल बाहिरबाट आयात गर्न पर्दैन यसले पनि नेपाललाई धान उत्पादनमा आत्मनिर्भर बनाउन सकिन्छ । यदि यस्तो गर्न नसकिए भारतबाट मसिनो चामल आयात भइरहन्छ र मोटो चामल निर्यात भइरहन्छ यो समस्या यस्तै चलिरहन्छ ।’

प्रतिक्रिया