सोमबार, वैशाख २९, २०८२

आन्तरिक उडान नियमित, विमानस्थलमा यात्रुको भिड

नेपालखोज २०७८ असार १७ गते १५:३९

काठमाडौं । कोभिड-१९ महामारीका कारण बन्द भएको आन्तरिक हवाई उडान आजबाट पुन: नियमित भएको छ ।

कोभिड-१९ महामारीको संक्रमणलाई ध्यान दिँदै सरकारले वैशाख १६ देखि निषेधाज्ञा जारी गरेसँगै वैशाख २० गतेदेखि आन्तरिक उडान बन्द गरेको थियो । बिहीबारदेखि आन्तरिक उडान नियमित भएको हो । आन्तरिक उडान खुलेसँगै देशका विभिन्न भेकबाट मानिसहरुलाई काठमाडौं आउन र काठमाडौंबाहिर जान सहज भएको छ । हवाई यात्रामार्फत विभिन्न ठाउँबाट काठमाडौं उत्रिएका यात्रुले फेससिल्ड, मास्क र स्यानिटाइजरलगायतको व्यवस्थासहित सुरक्षित तवरले यात्रा गरेका छन् ।

उडान खुलेको पहिलो दिन विमानस्थलमा यात्रुको भिड पनि बढेको छ । स्वास्थ्य सावधानी अपनाउन यात्रुबीच भौतिक दूरीको पालना गराउन सकिएन भने कोरोना संक्रमणको जोखिम बढ्ने देखिन्छ । वर्षाको समयमा स्थलयात्रा गर्नका लागि सडकहरुमा बाढी, पहिरो र दुर्घटनाको जोखिम बढ्ने कारणले यात्रुको रोजाइ हवाई मार्ग हुने गरेको छ ।

आज (बिहीबार) पहिलो दिनदेखि नै आन्तरिक टर्मिनल भवनमा यात्रुको चाप अत्यधिक छ । काठमाडौंमा यातायातको साधन जोरबिजोर प्रणालीमा खुलेर मानिसलाई आवतजावतमा रोक नलगाइँदा विमानस्थलमा मानिसलाई लिन जाने र पुर्‍याउन जानेहरुलाई पनि सहज भएको छ । कोरोना संक्रमणबाट जोगिन विमानस्थलमा पनि जनस्वास्थ्यको कडा मापदण्ड परिपालना गराउनुपर्ने देखिन्छ ।

प्रतिक्रिया