सोमबार, वैशाख २९, २०८२

यात्रुसँग तीनगुणा बढी भाडा असुल गर्ने ८ जना पक्राउ

नेपालखोज २०७८ असार १७ गते १८:५०

काठमाडौं । ट्राफिक प्रहरीले उपत्यकाको विभिन्न स्थानहरुबाट यात्रुसँग तीन गुणा बढिसम्म भाडा लिई ठगी गर्ने ८ जनालाई बिभिन्न स्थानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरु टिकट काउण्टरका कर्मचारीदेखि निजि सवारी साधनका चालकहरु समेत रहेका छन् ।

हवाई यातायातसमेत सुचारु भएसँगै उपत्यका बाहिरिने भित्रिने यात्रुहरु बढ्न थालेपछि यातायातको प्रयोगमा वृद्धि भएको छ । वैैदेशिक रोजगारबाट आएका र उपत्यका बाहिरका जिल्लाहरु जाने अधिकांश यात्रुहरु सवारी साधनबाट ठगिन सक्ने हुनाले ट्राफिक प्रहरीले विशेष सक्रियता देखाउँदै आएको छ ।

‘जारी निषेधाज्ञा खुकुलो हुन थालेसँगै पुनः यात्रुहरु ठगिन सक्ने र यात्रुहरुलाई समस्या पर्न सक्ने कुरालाई मध्यनजर गरि अपरेसन टोली परिचालन गरेका छौ, टोलीले यात्रु बनेर भाडा मोलमोलाई गर्ने, गोप्यरुपमा बुझ्ने, निगरानी गरि यात्रुसँग बढि भाडा लिएका व्यक्तीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने गरेका छाैं’ महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले भने।

ट्राफिक प्रहरीले कोटेश्वरबाट प्र१-०१-००१ज ३४९२ नम्बरको बोलेरो जीप चालक झापाका ३८ वर्षे पुण्यप्रसाद गिरी, बा२०च २४२ नम्बरको निजी स्कर्पियो चालक गोर्खा च्याङ्लीका ३८ बर्षे सन्त बहादुर कुमाल र मे१ज २९९३ नम्बरको बोलेरो जीप चालक ईलाम घर भएका खेम बहादुर पाँचकोटीलाई यात्रुसँग बढि भाडा लिई ठगी गरेको आरोपमा पक्राउ गरि कारबाहीको लागी प्रहरी प्रभाग कोटेश्वरमा बुझाएको छ ।

त्यसैगरी ललितपुरबाट भक्तपुर बस्ने बर्ष ४६ का राजीव हिङ्गजुलाई बा१७च ५००१ नम्बरको स्कर्पियोसहित प्रयोजन विपरित भाडामा यात्रु बोकेको अवस्थामा नियन्त्रणामा लिएको हो भने सोही स्थानबाट सप्तकोसी हाइस काउण्टरमा काम गर्ने झापाका २८ बर्षे संजय खड्कालाई समेत यात्रुसँग बढि भाडा लिदै गरेको अवस्थामा नियन्त्रणमा लिइ प्रहरी बृत्त सातदोबाटोमा बुझाएको छ ।

अन्य पक्राउ पर्नेहरुमा कलंकीबाट बा१४च ४२८६ नम्बरको गाडी चालक कन्चनपुरका अम्मर ऐर, बा६च २१४९ नम्बरको स्कर्पियो चालक भक्तपुरका ३७ बर्षिय श्याम मछ्या र मित्रपार्कबाट को२च २५८२ नं को मारुती भ्यान चालक धनकुटाका बर्ष ३९ का हरेन्द्र बुढाथोकी रहेका छन् । पक्राउ परेका सबै जनालाई आवश्यक कारबाहीको लागी प्रहरी बृत्तहरुमा बुझाएको ट्राफिक महाशाखाले जनाएको छ ।

प्रतिक्रिया