सबै सार्वजनिक यातायात सोमबारदेखि चलाउने व्यवसायीको तयारी

काठमाडौं । नेपाल यातायात राष्ट्रिय महासंघ र यातायात सम्बद्ध विभिन्न ट्रेड युनियनहरुले २१ गते (सोमबार) सम्म सरकारको निर्णय कुर्नै भएका छन् । काठमाडौं जिल्लाका प्रमुख अधिकारी कालीप्रसाद पराजुलीको नेतृत्वमा बिहीबार स्वास्थ्य मन्त्रालय, सबै सुरक्षा निकायका प्रतिनिधि नेपाल यातायात राष्ट्रिय महासंघ र तीनवटा ट्रेड युनियनका प्रतिनिधिसहितको बैठकमा यस्तो सहमति भएको हो ।
असार १४ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंले २५ सिटभन्दा बढी सिट क्षमताका सवारी साधन मात्रै सञ्चालन अनुमति दिएपछि नेपाल यातायात राष्ट्रिय महासंघ र तीनवटा ट्रेड युनियनले विज्ञप्ती जारी गरि सवारी साधन सम्बन्धी निर्णय खारेज गर्न र खारेज नभए स्वतस्फूर्त रुपमा असार १८ गतेदेखि देशव्यापी रुपमा सबै सवारीसाधन सञ्चालन गर्ने चेतावनी दिएका थिए ।
सोही विषयमा बिहीबार भएको छलफलमा प्रमुख जिल्ला अधिकारी पराजुलीले २१ गतेसम्म निषेधाज्ञा नै जारी रहेको र त्यससम्बन्धी निर्णय गर्नका लागि सीसीएमसी, मातहततका निकाय, स्वास्थ्य मन्त्रालय तथा जिल्ला स्तरमा पनि समन्वयन गर्नुपर्ने भन्दै निर्णयका लागि ४ दिनको समय मागेका थिए । प्रमुख जिल्ला अधिकारीले केही समय मागेकाले आफूहरु तत्कालका लागि १८ गतेदेखि सबै सवारीसाधन सञ्चालन गर्ने निर्णयबाट पछि हटेको नेपाल यातायात राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।
अखिल नेपाल यातायात मजदुर संघको केन्द्रीय अध्यक्ष रामचन्द्र कार्कीले छलफलमा २१ ग्ते सम्म सरकारी निर्णयलाई पर्खिने सहमति भएको जानकारी दिए । २१ गते पनि आफुहरुको पक्षमा निर्णय नभए २२ गतेदेखि सवै सवारीसाधन सञ्चालन गर्ने बताए ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौले उपत्यकाका तीन जिल्लामा जारी गरेको निषेधाज्ञाको बिहीबार ६३ दिन पुगिसकेको छ । २५ सिट भन्दा कम क्षमता भएका सवारी साधन सञ्चालन गर्ने व्यवसायी तथा तिनमा कार्यरत मजदुरले आफूहरुको समस्यालाई सरकारले सम्बोधन नगरेको भन्दै २५ सिटभन्दा धेरै सिट क्षमताका सवारीसाधन सञ्चालनका लागि दिएको अनुमतिको विरोध गर्दै आएका छन् । यसअघि व्यवसायीहरुले भोलि १८ गतेदेखि सबै सवारीसाधन सञ्चालन गर्ने चेतावनी दिएका थिए ।
प्रतिक्रिया