कोभिड नियन्त्रण गर्न सरकार पूर्ण रुपले असफल : राधेश्याम अधिकारी

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीले कोभिड नियन्त्रणका लागि सरकार पूर्ण रुपले असफल भएको बताएका छन् । बिहीबार राष्ट्रिय सभाको आठौं अधिवेशनको पहिलो बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीले सरकारले प्रचार गरेजसरी खोप ल्याउन नसकेको बताए ।
सरकारले खोप ल्याउन नसक्नुले नेपालको छिमेकिसँगको सम्बन्ध कस्तो रहेछ भन्नेपनि स्पष्ट भएको उनले बताए । सत्तारुढ राजनीतिक नेतृत्व कोभिड नियन्त्रणमा पुर्ण रुपमा असफल भएको उनले बताए । उनले भने– ‘खोप ल्याउने भनेर जति सरकारले प्रचारित गरेपनि खोप आउन नसकेको तितो यथार्थ छ । र हाम्रो कुटनीतिक प्रयास छिमेकीसँग पनि कस्तो रहेछ भन्नेकुरा यस पटक उदाङ्गो भएको छ । कोभिड नियन्त्रणमा राजनीतिक नेतृत्व पूर्णत्ः असफल भएको छ ।’
उनले संसद विघटनको सम्बन्धमा विपक्षी गठबन्धन सर्वोच्च अदालत जानु स्वभाविक रहेको बताए । राजनीतिक समस्याहरुलाई राजनीतिकरुपमा समाधान गर्नुपर्ने भएपनि राजनीतिक र संवैधानिक कुरा मिसियो भने त्यसको छिनोफानो अदालतले नै गर्ने उनले स्पष्ट पारे । उनले भने– ‘एउटा कुरा बिर्सिन भएन । राजनीतिक र संवैधानिक कुरा मिसियो भने त्यो कुरा हिजोपनि सर्वोच्च अदालतले हेरको छ । आजपनि हेर्छ र भोलिपनि हेर्नुपर्छ । यो कुरा सबैलाई हेक्का होस् ।’
राष्ट्रिय सभा सदस्य अधिकारीले सरकारले चुनाव गर्ने हठ गरिएको भएपनि चुनाव अनुकुलको परिस्थिति नभएको बताए । चुनावमा जानको निम्ति सरकारकै कोभिड सम्बन्धी उर्दी बाधक बनेको उनले बताए । सरकारले सिडिओहरु मार्फत् राणा शासन चलाएको पनि उनले बताए ।
उनले सञ्चारकर्मीरुपा सुनारलाई दलीत भएकै कारणले कोठा भाडामा नदिएको प्रकरणमा आरोपितलाई मन्त्रीले दबाब दिएर आफ्नै गाडीमा राखि छुटाएको घटनाको जति निन्दा गरेपनि कम हुने धारणा व्यक्त गरे । उनले भने– ‘दलीतको सवालमा केही बोल्नैपर्ने भएको छ । गएको वर्ष रुकुमको घटना दर्दनाक रुपमा यहाँ उठाइएको थियो । यसपाला काठमाडौंको मुटुमा नै रुपमा सुनारले घरबहाल दलीत भएकै कारणले बस्न नपाएको तितो कुरा सतहमा आएको छ ।
त्यसभन्दा पनि बढी यो कुराले हाम्रो शिर निहुँरिएको छ कि बहालवाला मन्त्रीले आफ्नै गाडीमा रुपाको जाहेरीमा अनुसन्धान सुरु भएका व्यक्तिलाई दबाब दिएर छुटाउनुभयो र अनुसन्धानमा हस्तक्षेप गर्नुभएको छ । यसकुरामा बर्तमान सरकारको जति निन्दा गरेपनि कम हुन्छ ।’ राष्ट्रिय सभा अधिकारीले देशमा कोभिडको कारण चौतर्फीरुपमा समस्या भइरहेको भएपनि सरकार अर्थ व्यवस्थापनमा चुकेको बताए ।
प्रतिक्रिया