अझै तीन दिन लगातार वर्षाको सम्भावना

काठमाडौं । शुक्रबारदेखि काठमाडौं उपत्यकालगायत देशका अधिकांस ठाउँमा ठूलो पानी परिरहेको छ । हाल इलाम, झापा, मोरङको धेरै स्थानमा भारी बर्षा भएको मौसमविद् धर्मराज उप्रेतीले जानकारी दिए ।
भारी वर्षाका कारण मेचि, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा-रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोलालगायत अन्य साना खोलाहरुमा पानीको वहाब बढ्न गइ सतर्कता तह आसपासका क्षेत्रमा बाढी आउन सक्ने तथा होचा स्थानमा डुबान हुन सक्ने भएकाले आसपासका क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह गरिएको छ । त्यस्तै रातीसम्म नै लगातार वर्षा हुने भएकाले रातिसम्म नै उच्च सतर्कता अपनाउन मौसमविद् उप्रेतीले आह्वान गरेका छन् ।
त्यस्तै, जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश-१, प्रदेश-२, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा दिनभरि नै हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ, भने आज राति प्रदेश-१, प्रदेश-२, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाकाअनुसार अझै तीन दिन पानी पर्ने र रोकिने क्रम चलिरहने छ । पहाडी भेगमा पहिरोका साथै नदीनाला तथा खहरे खोलाहरुमा बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । रातिदेखिको पानीले तनहुँको बिमल नगरमा मर्स्याङ्दी नदी र मकवानपुरको रजैयामा पूर्वी राप्ती नदीले सतर्कता तह पार गरेको छ । यी नदीहरुमा पानीको बहाव बढ्दो क्रममा रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया