नारायणगढ-मुग्लिन खण्डमा एकपछि अर्को पहिरो, हेटौंडा-काठमाडौं जोड्ने सबै सडक अवरुद्ध

नेपालखोज २०७८ असार १९ गते ८:३८

चितवन । निरन्तरको वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड तीन दिनदेखि अवरुद्ध हुँदै आएको छ ।

डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार सडकको सेती दोभान, चारकिलो र पाँचकिलोमा ठूलो पहिरो खसेको छ । शुक्रबार साँझ चारकिलो र पाँचकिलोमा खसेको पहिरो पन्छाएर सडक सञ्चालन गरिएको दुईघण्टा नपुग्दै सेती दोभानमा ठूलो पहिरो खसेको उनले जानकारी दिए । त्यस पछि पुनः चारकिलो र पाँचकिलोमा पनि पहिरो खसेको हो ।

नारायणगढबाट २० किलोमिटर मुग्लिनतर्फ पर्ने सेती दोभानमा पछिल्ला वर्षहरुमा पहिलोपटक पहिरो खसेको हो । उनले भने, ‘मैले यो सडकमा काम गरेको ६ वर्ष भयो । पहिलो पटक यहाँ पहिरो खसेको हो ।’ सडकको भित्तातर्फ ५० मिटर भन्दा माथिबाट पहिरो झरिरहेकाले सफा गर्न कठिन भएको छ ।

पहिरो रोकीएमा ५ देखि ६ घण्टामा सडक सफा गर्न सकिने भएपनि पानी परिरहेमा दिनभर लाग्न सक्ने उनको भनाइ छ । चार र पाँच किलोमा पहिलेकै ठाउँमा पहिरो खसेको हो । सडक सफा गर्न तीन वटा लोडर, एउटा एक्साभेटर, एउटा व्रेकर र दुईवटा जेसिबी परिचालन गरिएको छ ।
मुग्लिन नजिकै चारकिलो र पाँचकिलोमा पहिरो खसिरहेकाले समस्या भएको छ । सेती दोभानमा ठूलो पहिरो खसेपछि थप जटिल बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानदाश थापाले बताएका छन् ।

हेटौंडा–काठमाडौं जोड्ने सबै सडकखण्ड अवरूद्ध

अविरल वर्षासँगैको बाढी र पहिरोले हेटौंडालाई काठमाडौसँग जोड्ने सबै सडकखण्ड अवरूद्ध भएको छ । पहिरोले कान्ति लोकपथ, भीमफेदी–कुलेखानी–फाखेल, भीमफेदी–सिस्नेरी–दक्षिणकाली र भैसे–पालुङ–नौबिसे सडकखण्ड अवरूद्ध बनेको हो ।

यस्तै, त्रिभुवन राजपथको हेटौंडा–भैंसे सडकखण्डअन्तर्गत भीमफेदी–१ बाघझोराको खोलाको बहाव बढ्दा बाटो अवरूद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देव दासले जानकारी दिए ।प्रहरी निरीक्षक दासका अनुसार चितवन–मुग्लिन हुँदै काठमाडौं आउने सडकखण्ड पनि अवरूद्ध भएको छ । लगातारको वर्षा नरोकिएकाले पहिरो पन्छाउन समस्या भइरहेको छ ।

सडक अवरुद्ध हुँदा विवाह लगायतका अत्यावश्यक काममा हिड्ने प्रभावित भएका छन् । ठूलो सङ्ख्यामा सवारीसाधनमा आएका यात्रुहरु सडकमानै बिचल्लीमा परेका छन् । शुक्रबार विवाहका लागि हिडेका बेहुलाहरुको बिचल्ली परेको सामुहिक तस्विरहरु सार्वजनिक भएका थिए ।

यसैगरी पृथ्वी राजमार्गको घोप्टेभिर र कुरिनटारमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । लेदो खसिरहेकाले सडक दुईतर्फी अवरुद्ध भएको छ ।

प्रतिक्रिया