पत्रकारमाथि लाठी प्रहार गर्ने प्रहरीलाई कारबाही गर्न माग

नेपालखोज २०७८ असार १९ गते २२:०१

काठमाडौं । फोटो पत्रकार क्लब नेपालले फोटो पत्रकार निमेषजङ राईमाथि लाठी प्रहार गर्ने प्रहरीमाथि कारबाही गर्न माग गरेको छ। शनिबार काठमाडौंको मिनभवनमा भएको प्रदर्शनको फोटो खिँच्न पुगेका पत्रकार राईमाथि लाठी प्रहार भएको भन्दै क्लबले पत्रकारलाई आक्रमण गर्ने प्रहरीमाथि छानबिन गरेर कारबाही गर्न विज्ञप्तिमार्फत माग गरेको हो।

प्रहरीको लाठी लागेर राईको घुँडामा चोट लागेको छ। विपक्षी दलसँग आवद्ध विद्यार्थी संगठनले आयोजना गरेको विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेपछि भएको झडपका क्रममा राईमाथि प्रहरीले लाठी प्रहार गरेको थियो ।

तस्बिर संकलन तथा सम्प्रेषण गरिरहेको पत्रकारमाथि पटकपटक नियोजितरुपमा प्रहरीले आक्रमण गरेको भन्दै क्लबका प्रवक्ता दिपेश श्रेष्ठले विज्ञप्ति सार्वजनिक गर्दै आपत्ति जनाएका हुन्। शान्तिपूर्ण विरोध गर्न पाउनु र नागरिकको नैसर्गिक अधिकार रहेको स्मरण गराउँदै विज्ञप्तिमा चौथो अंगको मानिएको सञ्चार क्षेत्रमाथि हस्तक्षेप नगर्न सुरक्षा निकायसहित नेपाल सरकारलाई आग्रह गरिएको छ।

प्रतिक्रिया