‘वर्तमान राष्ट्रपतिले गणतन्त्रको गरिमा र मर्यादालाई कायम राख्न सकिनन्’

नेपालखोज २०७८ असार २० गते १८:५२

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले संविधानलाई पुनःजीवन दिने बताएका छन् । आइतबार विपक्षी गठबन्धनका विद्यार्थी संगठनले रत्न राज्यलक्ष्मी क्याम्पसमा आयोजना गरेको संसद विघटन, अधिनायकवाद र विद्यार्थी आन्दोलन विषयक अन्तरक्रियामा बोल्दै कांग्रेस प्रवक्ता शर्माले सर्वोच्च अदालतले संविधानको पुनःजीवन दिने कुराको अपेक्षा गर्नुपर्ने बताए ।

उनले अदालतले फैसला गर्दा त्यसले समाजलाई पार्ने दुरगामी प्रभावलाई समेत केन्द्रमा राख्ने गरेको भन्दै संविधानको पुनःजीवन दिने कर्तव्य न्यायाधिशहरुको हातमा रहेको बताए । उनले महामारीबाट नागरिकको जीवन रक्षा गर्ने जिम्मेवारी सरकारको रहेको पनि बताएका छन् । नागरिकको जीवनलाई रक्षा नगर्ने हो भने त्यो लोकतन्त्र हुन नसक्ने प्रवक्ता शर्माले बताए । प्रवक्ता शर्माले लोकतन्त्रिक संस्कृति विद्यार्थी आन्दोलनको साझा मुद्दा बन्नुपर्ने पनि बताए । उनले विद्यार्थी आन्दोलनले समानता र सामाजिक रुपान्तरणको मुद्दामा केन्द्रीत हुनुपर्ने आवश्यकता रहेको पनि औँल्याए ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र)का नेता हिमाल शर्माले संसद विघटन गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली विदेशी शक्तिको मतियार बनेको आरोप लगाएका छन् । नेपालको संविधान मन नपरेको शक्तिलाई संविधान च्यात्नुपर्ने र त्यसको गोटीको रुपमा प्रधामन्त्री ओली प्रयोग भएको उनको जिकिर छ । उनले यस प्रकारको प्रवृत्तिसँगको लडाइँलाई अझै पेचिलो बनाउनुपर्ने बताए ।

त्यस्तै, नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले आगामी दिनमा राष्ट्रपति र प्रधानमन्त्री बनाउँदा एक अर्काको शक्ति सन्तुलनको हिसाबले पनि बिचार गरिनुपर्ने बताएकी छन् । अहिले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोले गर्दा संविधान च्यातिएको र लाखौँको सपनामा तुषारापात भएको भन्दै राज्यका निकायहरु बीचको जस्तै राष्ट्रपति र प्रधानमन्त्रीमा पनि शक्ति पृथकीकरणको सिद्धान्तलाई विचार गरिनुपर्ने उनले बताइन् । वर्तमान राष्ट्रपतिले गणतन्त्रको गरिमा र मर्यादालाई कायम राख्न नसकेको उनले टिप्पणी गरिन् ।

नेतृ झाँक्रिले राजनीतिक दलहरुले विगतका सहमती र सम्झौताहरु पालना नगर्ने गरेका भन्दै नेतृत्वमा इमान्दारीता थिएन भन्नेकुराको साझा निष्कर्ष निकाल्नुपर्ने बताइन् । आगामी राजनीति छलछाम र दाउपेचमा नभई हरेक कुरामा पारदर्शी र जवाफदेही हुनुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया