मंगलबार, वैशाख ३०, २०८२

वाग्मती प्रदेशसभाको बैठक भोलिसम्मका लागि स्थगित

नेपालखोज २०७८ असार २० गते २१:१९

काठमाडौं । वाग्मती प्रदेशसभाको बैठक भोलि बस्ने भएको छ । वाग्मती प्रदेशसभाको आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक विशेष कारणवश भोलि दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएकोे वाग्मती प्रदेशसभा सचिवालयले जनाएको छ ।

सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले भोलि दिउँसो १ बजे बस्ने गरी सूचना दिएको बताए । प्रदेशसभाको बैठकमा शनिबार विपक्षी दलहरुले विनियोजित बजेटमा माग गरिएअनुसारको योजना नभएको र बजेट वितरणमा पक्षपात गरेको आरोप लगाउँदै संसद् बैठक अवरुद्ध गरेका थिए । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको सक्रियतामा आज हेटौँडामा सर्वदलीय बैठक भएको थियो ।

बैठकमा सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डे, नेकपा (माओवादी केन्द्र) का शालिकराम जम्मकट्टेल, नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ, साझा विवेकशील दलका रमेश पौड्याल र सत्तारुढ दलका प्रमुख सचेतक दीपक निरौला सहभागी थिए ।

उनीहरुबीच भोलि असार २१ गते दिउँसो १ बजे बस्ने बैठकमा विनियोजित बजेट शीर्षकमा छलफल पुनः सञ्चालन गर्ने सहमति भएको नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले बताए ।

प्रतिक्रिया