मंगलबार, वैशाख ३०, २०८२

प्रतिगमनलाई सफल हुन नदिने नारायणकाजी श्रेष्ठकाे चेतावनी

नेपालखोज २०७८ असार २१ गते १५:५३

काठमाडौं । राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले प्रतिगमनलाई सफल हुन नदिने भन्दै त्यस प्रकारको सपना नदेख्न प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिएका छन् ।

सोमबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य श्रेष्ठले प्रतिगमनलाई कुनै पनि अवस्थामा सफल हुन नदिने भन्दै त्यस किसिमको सपना नदेख्न चेतावनी दिएका हुन् । उनले मुलुक प्रतिगमन र अग्रगमनको द्वन्द्व संघर्षबाट गुज्रीरहेको बताए ।

आफूहरुले एकपटक सरकारको प्रतिगामी कदमलाई असफल पार्न सफल भएपनि प्रतिगमन पुर्ण रुपमा सफल हुन नसकेका कारण प्रतिनिधिसभा दोश्रो पटक पनि विघटन भएको टिप्पणी गरे ।

उनले भने ‘म चेतावनी दिन चाहन्छु । त्यो कहिलेही पुग्ने पनि छैन । त्यस्तो सपना कसैले नदेखे हुन्छ । हामी प्रतिगमनलाई हरहालतमा परास्त गरि छाड्ने छौ ।’

प्रतिगमन पनि आफ्नै योजना अनुसार सम्पुर्ण संविधान र लोकतन्त्रलाई समाप्त गरेर अघि बढेको भएपछि उत्कर्ष विन्दुमा नपुगेका कारण आफुहरु राष्टियसभामा रहेको बताए ।

उनले राष्ट्रियसभाको अधिवेशनलाई तत्काल अन्त्य गर्ने तर्फ नसोच्न र जनताको आवाज मुखरित गर्ने औजार र थलोको रुपमा सदुपयोग गर्न सभाअध्यक्षको ध्यानाकर्षण गराए ।

उनले सभामा आफूले आधा घण्टा सम्म पनि बोलेको स्मरण गर्दे २० मिनेट बोल्न पाउनुपर्नेमा घटाएर १५ मिनेट बनाएबाट निरंकुशताको र प्रतिगमनको छिटा यही सदन भित्र पनि आउन थालेको महसुस भएको भन्दै त्यसतर्फ आपत्ती गराए ।

प्रधानमन्त्री ओली स्वार्थकेन्द्रीत महत्वाकांक्षाका कारण संविधान र लोकतन्त्र मात्रै नभई पार्टी र कम्युनिष्ट आन्दोलन पनि समाप्त पार्ने दिशामा अघि बढेको दाबी राष्ट्रियसभा सदस्य श्रेष्ठले भने ।

प्रधानमन्त्री ओलीको स्वार्थ केन्द्रीत सत्तालिप्साले नेपालमा विदेशी हस्तक्षेप आमन्त्रण गर्ने स्थानमा पुराएको दाबी राष्ट्रियसभा सदस्य श्रेष्ठले गरे ।

प्रधानमन्त्री ओलीले विदेशीहरुसँग मिलेर संविधान र लोकतन्त्रमाथि आक्रमण गरेको आरोप उनले लगाए । उनले ओलीकै कारण मुलुकको आन्तरिक मामिलामा विदेशीहरुको हस्तक्षेप बढेको बताए ।

आफुहरुको मुख्य कार्यभार प्रतिगामी निरंकुशतन्त्र कुनै पनि अवस्थामा स्थापित हुन नदिनु नै रहेको भन्दै त्यसै अनुसार राजनीतिक संघर्ष अघि बढीरहेको स्पष्ट पारे ।

अदालतले फेरि पनि संविधान अनुसार नै निर्णय गरेर संविधान र लोकतन्त्रको रक्षा गर्नेछ भन्नेमा आफू विश्वस्त रहेको बताए । संविधानमा प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार प्रधानमन्त्रीमा नरहेको भन्दै उनले संविधानको धारा ७६ अन्र्तगतका सम्पुर्ण धाराहरुको कार्यान्वयन समाप्त भएको हो ? भनी प्रश्न गरे ।

धारा ७६ ५ , ७६, २ नभएको भन्दै उनले ७६, २ नै ७६ ५ हो भनेर व्याख्या गर्नु संविधानलाई विकृत पार्नु हो । ७६ ५ लाई सांसदहरुले नै संसद बचाउन र सरकार बनाउनका लागि प्रयोग गर्ने धारा भएकाले त्यसमा सांसदहरुलाई स्वतन्त्रता दिईएकाले पार्टीको व्हीप नलाग्ने जिकिर गरे ।

उनले संविधान र लोकतन्त्रको हत्या गर्न रचना भएको निर्वाचनको नाटकलाई स्वीकार नगर्ने बताए । श्रेष्ठले सरकारले भोट माग्ने अस्त्रको रुपमा कालीगण्डकी तिनाउ डाईभर्सन परियोजना अघि बढाएर संघीयताको हत्या गरेको टिप्पणी गरे ।

राष्ट्रियसभा सदस्य श्रेष्ठले सबै जनतालाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन तथा कोभिड तेश्रो लहरको पुर्व तयारीमा जट्न सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया