पलायन हुँदै टेम्पो चालक, भन्छन्- काम छैन, माम पनि छैन

काठमाडौं । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि गत चैतमा राजधानीमा विगत १५ वर्षदेखि टेम्पो चलाउँदै आएकी नन्दु श्रेष्ठले काठमाडौं छाडिन् । लामो समयदेखि टेम्पो चलाएर जीविकोपार्जन गर्दै आएकी श्रेष्ठले एकाएक काठमाडौं किन छाडिन् त ? त्यो सबैभन्दा पहिलो प्रश्न हो । तर, श्रेष्ठले काठमाडौं छाड्नुको पछाडि रहर होइन बाध्यता लुकेको छ ।
पहिलो लहरको कोरोना फैलिएपछि जारी गरिएको गत वर्षको लकडाउन तथा त्यसपछिका निषेधाज्ञा र अहिले दोस्रो लहर फैलिएपछि जारी निषेधाज्ञाका कारण टेम्पोलाई नै आफ्नो मुख्य आय-स्रोतका रुपमा लिएकी श्रेष्ठले सम्पूर्ण क्षेत्र ठप्प भएर टेम्पो चलाउनै नपाएपछि एकाएक काठमाडौं छाड्नुपर्यो । अपाङ्गता भएका पति अनि दुई छोराछोरीको लालनपालन गर्नुपर्ने जिम्मेवारी नन्दु एक्लैको काँधमा छ । टेम्पो चलाएर साहुको ऋण अनि छोराछोरीलाई बढाएर जेनतेन दैनिक गुजारा चलिरहेकै थियो । तर गत वर्षदेखि फैलिएको कोरोना संक्रमणले उनको सारा सपना चकनाचुर बनाइदियो । केही सीप नलागेपछि नन्दु स-परिवार आफ्नो थातथालो फर्किन बाध्य भइन् । उनी मात्रै होइन यसमा लागेका धेरै टेम्पो चालक लामो समयको लकडाउनका कारण खान बस्नै समस्या भएपछि अन्य कामको खोजीमा लागेको र अधिकांश निर्माण क्षेत्रको काम गर्न लागेका छन् ।
त्यस्तै, हेटौंडा स्थायी घर भई हाल काठमाडौं बस्ने सावित्री मोक्तानले पनि टेम्पो चलाउने आफ्नो पतिसँग चलाउन सिकेर विगत ६ वर्षदेखि आफैं चलाउँदै आएकी थिइन् । दुई सन्तानकी आमा मोक्तानको परिवारले टेम्पो चलाएरै जीविको निर्वाह गर्दै आएकामा निषेधाज्ञाले दैनिकी गुजारा गर्न पनि हम्मेहम्मे भएको छ ।
‘श्रीमान्-श्रीमती दुवैले टेम्पो चलाउँथ्यौं । मैले पनि मेरो श्रीमान्बाटै चलाउन सिकेकी हुँ,’ मोक्तान भन्छिन्, ‘दुईजनाले दैनिक टेम्पो चलाएर कमाएको आम्दानीबाट छोराछोरीलाई पढाएर धेरथोरै जम्मा गर्ने गरेका थियौं । दैनिकी राम्रैसँगै चलिरहेको थियो । तर गत वर्षदेखिको कोरोनाका कारण टेम्पो चलाउन नपाउँदा कोठा भाडा तिर्न त परैको कुरा हो, खान बस्न पनि गाह्रो भइरहेको छ ।’ मोक्तानले आफूसँग अन्य कुनै काम गर्ने सीप नभएका कारण टेम्पो चलाएर खानुको विकल्प नभएको बताइन् । ‘दुईजनाले टेम्पो चलाउँदा राम्रै आम्दानी हुन्थ्यो । कहिले अरु काम सिक्नुपर्ने भन्ने नै हेक्का भएन । अहिले आएर पछुतो भइरहेको छ,’ मोक्तान भन्छिन्,‘दुई जनामध्ये एकजनाले अन्य कुनै सीप सिकेको भए अहिले खानका लागि त यसरी भौंतारिनुपर्ने थिएन । बूढाबूढीको काम एउटै हुँदा गत वर्षदेखि दुवैजना खाली छौं ।’ उनले काम नहुँदा माम (खाना) जुटाउन पनि मुस्किल भएको बताउँछिन् ।
यी त प्रतिनिधि पात्रहरू मात्रै हुन्, कोभिड महामारीकालमा उनीहरूजस्तै धेरै टेम्पो चालक पलायन भइसकेका छन् । काठमाडौं उपत्यकामा धेरै महिला टेम्पो चलाएर जीविकोपार्जन गर्दै आएका छन् । टेम्पो चलाउने बाटो रोजेका उनीहरू अफ्ठ्यारो काम महिलाहरूले गर्न सक्दैनन् भन्नेहरूका लागि उदाहरणीय बनेका छन् । तर, कोरोनाका कारण अहिले पेसाबाटै पलायन हुने अवस्था उनीहरू छन् ।
लामो समयको गत वर्षको लकडाउनपछि सम्पूर्ण क्षेत्र सञ्चालनमा आए । तर, यातायात क्षेत्र भने ठप्प रहे । जसले गर्दा यस क्षेत्रमा आबद्ध धेरै विस्थापित हुन पुगे । गत वर्ष करिब ६/७ महिनाको अन्तरालपछि जनस्वास्थ्यका मापदण्ड पालना गरी यातयातका क्षेत्र खोल्न दिइएको थियो । तर, पूर्ण क्षमतामा टेप्पो लगाउन नपाउने, यात्रु नै नपाउनेलगायत कारणले दैनिक साहुलाई बुझाउनुपर्ने रकमसम्म जम्मा गर्न नसक्दा काठमाडौंमा खान बस्नसम्म हम्मेहम्मे परेपछि धेरै टेम्पो चालक विस्थापित भएका हुन् ।
संक्रमणदर कम भएर अवस्था सामान्य हुँदै गएको थियो । पुन: दोस्रो लहरको कोरोना संक्रमण फैलिएर निषेधाज्ञा जारी भएपछि टेम्पो चालक थप मारेमा परेका छन् । हाल अन्य क्षेत्र आवश्यकताअनुसार सञ्चालनमा आए पनि टेम्पो सञ्चालन भएका छैनन् । यद्यपि, जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्नुपर्ने सर्तसहित आज (असार २२ गते) देखि टेम्पो सञ्चालन गर्न दिइएको छ । तर, टेम्पो सञ्चालनमा आए पनि आम्दानी भने नहुनेमा आफूहरू ढुक्क रहेको टेम्पो चालक बताउँछन् । नेपालमा फेरि तेस्रो लहरको कोरोना संक्रमणको लहर पनि आउँछ भन्ने हल्ला सुनेको भन्दै अहिले नै टेम्पो चलाउने कि नचलाउने भन्नेमा आफू अन्योलमा रहेको कैलाली स्थायी घर भई काठमाडौंमा टेम्पो चलाउँदै आएका सन्तोष भण्डारी बताउँछन् ।
कोरोनाका कारण नेपालमा मात्रै होइन विश्वमै धेरैको रोजीरोटी खोसिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले गत वर्ष मात्रै कोरोना भाइरस संक्रमणका कारण विश्वभर नै धेरैको रोजगारी गुमे पनि सबैभन्दा धेरै खाडीका क्षेत्रमा ८ दशमलव १ प्रतिशत अर्थात् ५० लाख जनाको पूर्णकालीन रोजगारी गुमेको प्रतिवेदनमार्फत जनाएको थियो ।
उक्त प्रतिवेदनमा खाडीपछि युरोपमा ७ दशमलव ८ प्रतिशत अर्थात् एक करोड २० लाख, एसिया तथा प्यासेफिक क्षेत्रमा ७ दशमलव २ प्रतिशत अर्थात १ अर्ब २५ करोडजनाको पूर्णकालीन रोजगारी गुमेको उल्लेख छ । नेपालमा पनि निजी क्षेत्रसहित आकलन गर्दा धेरै नेपालीको रोजगारी गुमेको छ ।









प्रतिक्रिया