बुधबार, असार २, २०७८

जनकपुरधाम धार्मिक पर्यटनको केन्द्र बन्दै

नेपालखोज २०७६ पुष २३ गते १६:५९

२३ पुष, धनुषा । पछिल्लो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमणपछि माता सीताको माइती जनकपुर हेर्न विश्व लालायित देखिएको छ । प्राचीन मिथिलाको राजधानी तथा प्रदेश नं २ को राजधानी जनकपुरधाम पुरातात्विक सम्पदा, संस्कृति र मिथिला कलाले जति धनी छ, धार्मिक गन्तव्यका दृष्टिले पनि वैभवपूर्ण छ । भौतिक पूर्वाधारका हिसाबले जनकपुर सुगम धार्मिकस्थल हो ।

राजर्षि जनककोे राजधानी, रामचन्द्रको ससुराली र आदर्श नारी सीताको जन्मभूमि जनकपुरमा अन्यत्र गरिएको पापबाट मुक्ति पाइने र यहाँ गरिएको पापबाट अन्यत्र कतै मुक्ति पाइँदैन भन्ने विश्वास छ । हिन्दू धर्माबलम्बीको विशेष आस्थाको केन्द्र जनकपुरधाम पर्यटकीय नगरीमध्ये एक हो ।

धार्मिक पर्यटनको प्रचूर सम्भावना बोकेको जनकपुरधामलाई ५२ कुट्टी ७२ कुण्डको शहरको नामले पनि चिनिन्छ । जनकपुरमा पाइलैपिच्छे विभिन्न देवीदेवताका आकर्षक मठमन्दिर र तालतलैया छन् । जानकी मन्दिरलगायत राममन्दिर, राजदेवी मन्दिर, लक्ष्मण मन्दिर, जनक मन्दिर, गङ्गा सागर, धनुषा सागर, अरगजा सागरलगायत दर्जनौँ तालतलैया र मठ मन्दिर छन् ।

बिहानैदेखि यहाँका मठमन्दिरमा गुञ्जिने मैथिली गीतसङ्गीतले पर्यटक तथा श्रद्धालुभक्तजनलाई मन्त्रमुग्ध बनाइदिन्छ । अनि भक्तजन र पर्यटक उत्साहित हुँदै भन्छन्, ‘जय सीताराम, जय जय हो किशोरीजी, जय जनकपुरधाम। ’ रामजानकी विवाहपञ्चमी महोत्सव, विजयादशमी, दीपावली, छठ पर्व, रामनवमी, जानकी नवमीलगायत चाडपर्वमा जनकपुरधामलाई बेहुली झैँ सिँगारिन्छ ।

विश्व सम्पदा सूचीमा राख्ने तयारी
जानकी मन्दिर हिन्दू धर्मावलम्बीको पवित्र धर्मस्थल एवं आस्थाको केन्द्र हो । गत भदौ ३० गते पुरातत्त्व विभागले जनकपुरमा पत्रकार सम्मेलन गरी नौलखा मन्दिरलाई विश्व सम्पदाको सम्भाव्य सूचीमा सूचीकृत गराउनका लागि आगामी छ महीनाभित्र क्षेत्र सीमाङ्कन गर्न प्रक्रियाको थालनी गरिने जनाएको थियो ।

विभागको पहलमा गङ्गासागर, धनुषसागर, राममन्दिर र जानकी मन्दिरसम्मको क्षेत्रलाई आधार मानी सीमाङ्कन गरिने जनाइएको छ । सीमाङ्कन गर्दा सो क्षेत्रमा भवनको मापदण्डबारे सरोकार पक्षसँग छलफल गरी सीमाङ्कनको प्रक्रिया अगाडि बढाइने योजना छ । सीमाङ्कनको प्रक्रिया पूरा भएपछि सीमाङ्कन भइसकेको क्षेत्रलाई संरक्षित प्राचीन स्मारक क्षेत्र घोषणा गरी सूचीकृत हुने अन्य मापदण्डको कार्यलाई गति प्रदान गरिने छ ।

युनेस्कोद्वारा सन् २००८ मा जानकी मन्दिरलाई विश्व सम्पदाको सम्भाव्य सूचीमा राखिए पनि स्थानीयस्तरमा सूचीकरण मापदण्डप्रति अग्रसरताको अभावले गति लिन नसकेको बताइएको छ । प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले मन्दिरलाई विश्वसम्पदामा सूचीकृत गराउने प्रक्रिया र पहलमा सरकार क्रियाशील रहने बताए ।

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रीता झाले पनि मन्दिरलाई विश्व सम्पदासूचीमा सूचीकृत गराउने सन्दर्भमा मापदण्ड पूरा गराउन उपमहानगरपालिका तयार रहेको बताए।

पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले विश्वसम्पदा सूचीमा सूचीकृत गराउने सन्दर्भमा स्थानीय सरकारले कानूनी आधारको आवश्यक प्रक्रिया पूरा गराउन पहल गर्नु जरूरी रहेको बताए । पुरातत्वविद् भीमप्रसाद नेपालले जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अन्तर्गत सीमाङ्कनपछि व्यवस्थापकीय योजना निर्माण गर्नुपर्ने जानकारी गराए । विभागका प्रमुख पुरातत्त्व अधिकृत रामबहादुर कुँवर र अभियानकर्मी गोपाल झाले पुरातात्विक सम्पदाको संरक्षणमा ध्यान केन्द्रित गर्नुपर्ने औँल्याए ।

विसं २०७१ असोज १५ देखि जानकी मन्दिरलाई विश्वसम्पदा स्थलका रुपमा सूचीकृत गराउने अभियान शुरु भएको हो । हालसम्म भएका प्रगतिको विवरणलगायत कागजात अभियानका तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहलाई कागजात हस्तान्तरण गरिसकिएको अभियानका राजकुमार महतोले बताए । नगर प्रमुख साहले युनेस्को तथा विभागमा छलफल समेत गरिसकिएको बताउँदै तीनचार वर्षभित्र मन्दिरलाई विश्वसम्पदाका रुपमा देखिने विश्वास व्यक्त गरे ।

भारत मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानुकुमारीले नौ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएकाले यसलाई नौलखा मन्दिर पनि भन्ने गरिन्छ । सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा मुगल शैलीमा निर्माण सम्पन्न भएको मन्दिर नेपालको ख्यातिप्राप्त कलाको उत्कृष्ट नमूना मानिन्छ ।

जनकपुरमा राम जन्मको अवसरमा हरेक चैतमा रामनवमी, वैशाखमा जानकी नवमी, मङ्सिरमा रामजानकी विवाह महोत्सव, असोज पूर्णिमामा कोजाग्रत, साउनभदौमा झुला महोत्सव र १५ दिने मिथिला माध्यमिकी परिक्रमा मनाइन्छ । यहाँ प्रत्येक पूर्णिमामा हजारौँ श्रद्धालु भक्तजन सहभागी हुन्छन् ।

जानकी मन्दिर निर्माणको सवा सय वर्ष नाघे पनि यसमा स्थापित राम र जानकीका प्रतिमा झण्डै सात सय वर्ष पुरानो भएको संस्कृतिविद्को भनाइ छ । मन्दिरका नाममा अहिले पनि सयौ बिघा जग्गा छ । मन्दिरभित्र त्रेतायुगीन झल्कने सङ्ग्रहालय पनि रहेको छ जसमा रामसीता, राजा जनकलगायतका पहिरनको नमूना र विभिन्न कलात्मक प्रतिमा छन् । मन्दिर ५६ वर्षदेखि भइरहेको अखण्ड रामसीता भजन पनि अबलोकन गर्न सकिन्छ । मन्दिर अवलोकन एवं घुमघामका लागि यहाँ दैनिक हजारौ श्रद्धालुभक्तजन एवं आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् ।

प्रतिक्रिया