कांग्रेसको महाधिवेशन निर्धारित मितिमै हुने नहुनेमा आशंका

नेपालखोज २०७८ असार २४ गते १९:५१

काठमाडौं । नेपाली कांगेसका महामन्त्री शशांक कोईरालाले क्रियाशिल सदस्य नटुंगिएका कारण निर्धारित मितिमै महाधिवेशन हुने नहुनेमा प्रश्न उब्जिएको बताएका छन् । बिहीबार संचारकर्मीसँग कुरा गर्दै महामन्त्री कोईरालाले पार्टीको क्रियाशिल सदस्य नटुंगिएका कारण निर्धारित मितिमै महाधिवेशन हुने वा नहुनेमा प्रश्न चिन्ह खडा भएको बताए ।

विभिन्न जिल्लाबाट उजुरीहरु आएको भन्दै उनले असार महिनाभित्र क्रियाशिल सदस्य नटुंगिएमा महाधिवेशन प्रति आशंका पैदा हुने बताए । क्रियाशिल सदस्य छिटो टुंग्याउनको निम्ति आफुहरुले भरमग्दुर प्रयास गरेको पनि उनले बताए ।

उनले भने – क्रियाशिल सदस्य यो महिनाभित्र गर्न सकिएन भने त आशंका भइहाल्यो नि । यति जटिल छ अहिले क्रियाशिल सदस्यको बारेमा । ४६ जिल्ला भईसक्यो त्यसमा पनि उजुरीहरु आएको छ त्यसलाई पनि हेर्नुपर्‍यो । तसर्थ अहिलेको अवस्थामा भन्न सकिदैनँ कि टाईममा नै अधिवेशन हुन्छ कि हुँदैन, प्रश्नचिन्ह चाहीँ छ । तर हाम्रो ध्यान त्यतैतिर गएको छ । हामी भरमग्दुर प्रयास गर्दैछौँ क्रियाशिलको छिटो टुंग्याउँ भनेर ।

महाधिवेशनको मिति नजिकिएसँगै नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षीय नेताहरुको दौडधुप पनि निकै बढेको छ । बिहीवार नै काठमाडौंस्थित अनुपम फुडल्याण्डमा पौडेल पक्षीय नेताहरुले बैठक गरेका थिए ।

रामचन्द्र पौडेल, शशांक कोईराला, शेखर कोईराला, मिनेन्द्र रिजाल लगायतका नेताहरु सहितको बैठकमा पनि पार्टीको क्रियाशिल सदस्य कसरी टुंग्याउने भन्ने विषयमा नै छलफल भएको महामन्त्री कोईरालाले बताए । क्रियाशिल सदस्य टुंगो नलगाईकन महाधिवेशनमा जान नसकिने उनको भनाई छ ।

प्रतिक्रिया