आगामी सोमबारभित्र १५ लाख डोज कोभ्याक्स खोप नेपाल आइसक्ने

नेपालखोज २०७८ असार २६ गते ७:३४

काठमाडौं । कोभ्याक्स फ्यासिलिटीमार्फत ‘जोन्सन एन्ड जोन्सन’को १५ लाख मात्रा खोप नेपाल आउने भएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार नेपालका लागि १५ लाख र भुटानका लागि ५ लाख मात्रा खोप पठाउन लागिएको हो ।

केही दिनमै भ्याक्सिन निःशुल्क उपलब्ध गराउने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले पनि एक ट्विट गर्दै खोप उपलब्ध गराउनेबारे जानकारी दिएका हुन् । साथै दूतावासको अफिसियल फेसबुक साइटमा पनि यसबारे जानकारी दिइएको छ ।

राजदूत बेरीले लेखेका छन्– ‘नेपाल–अमेरिका साझेदारीको ७३ वर्ष लामो यात्रामा यो मेरा लागि अत्यन्त खुशीको क्षण हो । अमेरिका सदैव नेपालीहरुको साथमा छ र नेपालीको जीवनस्तर सुधारमा निरन्तर काम गरिरहनेछ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले केही समयअघि मात्रै परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी राष्ट्रपतिलाई पत्र लेख्दै खोपमा सहयोग गर्न आग्रह गरेकी थिइन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अमेरिकाबाट सो खोप आउने निश्चित भएको छ भने त्यसका लागि सम्पूर्ण तयारी पनि पूरा भइसकेको छ ।

कोरोनाविरुद्ध बनेका अन्य खोपहरू दुई मात्रा लगाउनुपर्ने भए पनि जोन्सन एन्ड जोन्सनको खोप एक मात्रा मात्र लगाए पुग्ने खोप विज्ञहरूको भनाइ छ ।

प्रतिक्रिया