महोत्तरीकी सुजिता ठाकुरको शव ३७ दिनपछि सेप्टिक ट्यांकीमा भेटियो

महोत्तरी । ३७ दिनदेखि हराइरहेकी महोत्तरीको लोहारपट्टी भ्रमरपुराकी सुजिता ठाकुरको शव भेटिएको छ । उनको शव आइतबार शौचालय बनाउन खनेको खाल्डोमा भेटिएको हो ।
२७ वर्षीया ठाकुरको शव उनकै ससुरा पतिरामको खेतमा निर्माणाधीन शौचालयको सेप्टिक ट्यांकीमा सडेको अवस्थामा ३७ दिनमा भेटिएको प्रहरीले जनाएको छ ।
सुजिताको शव नौ फिट गहिरो सेप्टिक टयांकीभित्र चार फिट गहिरो अर्को खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको महोत्तरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश विष्टले बताए । शवमाथि ढलानसमेत गरिएको थियो ।
संघीय प्रहरी, प्रदेश प्रहरी, जिल्ला प्रहरी र अभियन्ता सरोज रायको संयुक्त प्रयासमा शव भेटाउन सफल भएको विष्टले बताए । गएको जेठ २० गते सुजिताको हत्या भएको प्रहरीको अनुमान छ । श्रीमान् र ससुराले उनको हत्या गरेको माइती पक्षको आरोप छ ।
प्रहरीले पनि सुजिताको हत्या परिवारकै सदस्यले गरेको शंका गर्दै श्रीमान् र देवरलाई पक्राउ गरेको छ । सुजिताकी सासू, ससुरा र देवरानी भने अहिले पनि फरार छन् । उनीहरू भारतमा लुकेर बसेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
प्रतिक्रिया