प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागत योग्य : प्रवक्ता शर्मा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा पुनःस्थापित गर्ने सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक फैसला भनी स्वागत गरेको छ ।
सर्वोच्च अदालतको फैसला लगत्तै संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदै कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्च अदालतको फैसला स्वागत योग्य र ऐतिहासिक भएको बताए । उनले फैसलाले एकसाथ महत्वपुर्ण ३ वटा सन्देश दिएको बताए ।
कार्यपालिकाले संविधान र कानुन भन्दा बाहिर गएर काम गरेको खण्डमा संविधानको रक्षा गर्ने र सही व्याख्या गर्ने सवालमा न्यायलयले कर्म गर्न सक्दछ भन्ने सन्देश दिएको उनले बताए । त्यसैगरी संसदलाई जोगाउनका लागि संविधानले सांसदलाई दिएको राजनीतिक अधिकारको रक्षा र सुरक्षा पनि न्यायलयले गरेको उल्लेख गर्दै उनले लोकतान्त्रिक यात्रालाई विधिभित्रैबाट लैजानु पर्छ भनेर पनि स्थापित गरेको बताए ।
संविधान ठिक ठाउँमा आउनु पर्छ भनेर आ-आफ्नो स्थानबाट योगदान गर्नेहरु प्रति कांग्रेसले सम्मान व्यक्त गरेको छ । प्रवक्ता शर्माले पार्टीले सर्वोच्चको आदेशलाई नेपाली जनताको ऐतिहासिक जीतको रुपमा, लोकतन्त्रको जीतको रुपमा नेपालको संविधानको जीतको रुपमा र यो जीतलाई जनताको हितमा प्रयोग गर्ने ऐतिहासिक अभिभाराको रुपमा पनि लिने बताए ।
प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि आवेग मुक्त भएर संयमता पुर्वक मार्ग प्रशस्त गर्न ढिलाई गर्नुहुने छैन भन्ने विश्वास कंग्रेसले लिएको पनि प्रवक्ता शर्माले बताए ।
प्रतिक्रिया