देशका केही स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

नेपालखोज २०७८ असार ३० गते ७:०५

काठमाडौं । देशका धेरै स्थानमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार प्रदेश १, वाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन-चट्याङ्सहित भारी वर्षाको सम्भावना छ ।

आज रातिसम्मै देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
विभागले आज बिहान ६ बजे आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै हालको मौसमको अवस्थाबारे जानकारी दिएको हो । जसअनुसार अहिले देशभर सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

मनसुनी वायुको प्रभावका कारण प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आगामी चौबीस घण्टामा प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित धेरै भारी वर्षाको सम्भावना पनि रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिकजीवन, यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया