लामो दूरीका सवारीसाधन चलाउनेबारे छलफल गर्न ३ जिल्लाका प्रजिअकाे बैठक

नेपालखोज २०७८ असार ३१ गते १०:०१

काठमाडौं । लामो दुरीका सार्वजनिक यातायातका साधन सन्चालन गर्नेबारे छलफल गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु (सिडियो)को बैठक बस्दैछ ।

देशभरबाट काठमाडौं भित्रिने र बाहिरिने सार्वजनिक सवारीकोबारेमा निर्णय गर्न काठमाडौं उपत्यकाका तीन जिल्लाका सिडियोको बैठक आज बस्न लागेको हो ।

बैठक अपराह्न चार बजे बस्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन् । केहिदिन यता स्वास्थ्य मापदण्ड अपनाएर लामो दुरीका सवारी साधन जोरबिजोर प्रणालीका आधारमा चलाउन दिनेबारे सिडियोतहमा छलफल भइरहेको छ ।

काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातका साधनमा भने यसअघि लगाइएको जोरबिजोर प्रणालीको नियम हटाइसकिएको छ ।
काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञाको अवधि आज राति १२ पछि सकिंदैछ ।

पछिल्लो साता निषेधाज्ञा थप खुकुुलो बनाइएको थियो । आजकाे बैठकमा निषाेधाज्ञाबारे पनि निर्णय हुने जनाइएकाे छ ।

प्रतिक्रिया