उपत्यकामा जारी निषेधाज्ञा १० दिन थपियाे, अत्यावश्यक काममा मात्र प्रवेश पाइने

काठमाडौं । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो गर्दै १० दिन थप भएको छ ।
बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्ला प्रशासन कार्यालयका प्रमुख (प्रजिअ) हरुको संयुक्त बैठकले दश दिन निषेधाज्ञा थप गर्दै प्रावधानलाई थप खुकुलो बनाउने निर्णय गरेको हो ।
बैठकले साउन १० गतेसम्म जारी निषेधालाई निरन्तरता दिने निर्णय गरेको हो । तर यसअघि जारी प्रावधानमा फेरबदल भएको छैन । स्वास्थ्य मापदण्ड अपनाएर सार्वजनिक सवारीसाधन चल्नेछन् भने अन्य ताेकिएका क्रियाकलाप पनि सञ्चालन हुनेछन् ।
शुक्रबारदेखि काठमाडौं उपत्यकामा अत्यावश्यक कामले मात्र प्रवेश गर्न पाइने भएको छ । काठमाडौं आउन जिल्ला प्रशासन कार्यालयको पास नचाहिने भएको छ । यसअघि प्रशासनको पास अनिवार्य गरिएको थियो ।
म्याद थप भएको निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, स्विमिङ पुल, ब्युटी पार्लर, सैलुन भने बन्द नै रहने भएको छ । विद्यालयहरुले पनि भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्न पाउने छैनन् ।



प्रतिक्रिया