एनएमबि बैंकको म्यानुअल हस्तक्षेप रहित आर्टिफिसियल ईन्टेलिजेन्सयुक्त सरल कर्जा

नेपालखोज २०७८ असार ३१ गते १७:५२

काठमाडौं । एनएमबि बैंकले बैंकिङ्ग जगतमै पहिलो पटक पूर्ण रुपमा आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालनमा ल्याएको सरल कर्जा एनएमबि सापटी सेवा लिने ग्राहकको संख्या १ हजार पुगेको छ । जस अन्तर्गत ६ करोड भन्दा बढी कर्जा प्रवाह भईसकेको जनाएको छ ।

उक्त कर्जा अन्तर्गत कर्जा प्रवाहको लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप बिना डिजिटलरूपमै गर्न सकिने प्रावधान छ । यो सेवा बैंकसम्म नधाईकनै मोबाईलको प्रयोगबाट आवेदन दिएको ५ मिनेटभित्र नै प्राप्त गर्न सकिन्छ । नेपालमा एक करोड भन्दा बढी बचत खाता रहेको छ, जसमा लगभग १६ लाख ग्राहकले मात्र कर्जा सुविधा लिन सफल रहेको देखिन्छ ।

डिजिटल कर्जामा ग्राहकहरुको खासै पहुँच नदेखिएको अवस्थामा एनएमबिले भने एनएमबि सापटी योजनामार्फत जनचेतना अभिवृद्धिको साथै स–साना कर्जामा केन्द्रीत रहेर ग्राहकहरुलाई डिजिटल कर्जा प्रवाह गरिरहेको छ । एनएमबि सापटी वर्तमान परिवेशलाई ध्यानमा राख्दै यस बैंकमा तलव खाता हुने र व्यक्तिगत कर्जा उपयोग गरिरहेका ग्राहकहरुको व्यक्तिगत र आपतकालीन वित्तिय आवश्यकताहरुको परिपुर्तिको लागी प्रदान गरिने एक छोटो अवधिको धितो बिनाको कर्जा हो ।

एनएमबि बैंकमा तलव खाता हुने र व्यक्तिगत कर्जा भएका ग्राहकहरुलाई २४ महिनासम्मको लचिलो अवधिसहित क्रमशः १ लाख र २ लाखसम्म २४ सै घण्टा र ७ औं दिन कर्जा तुरुन्त उपलब्ध गराउदै आइएको छ । ग्राहकहरुले आफ्नो कर्जा चुक्ता अवधि, कर्जा चुक्ता गर्ने प्रकार, कर्जा रकम आदि आफ्नो सहजताको आधारमा छनौट गर्न सक्नेछन् । सुरक्षित रही डिजिटल संरचनाहरुको प्रयोग गर्ने, सुरक्षा सम्बन्धि नियम पालना गरी आफू र आफ्नो परिवारलाई कोभिडको महामारीबाट सुरक्षित हुने उपायहरु अवलम्वन गर्न समेत बैंकले अनुरोध गरेको छ ।

प्रतिक्रिया